ढिसमिस भयो लडाकू शिविरको भ्रष्टाचार

२ बैसाख, काठमाडौ । विभिन्न शिबिरहरुमा माओवादी लडाकू कमान्डरहरुले गरेको करोडौं रुपैयाँको आर्थिक हिनामिना विनाअनुसन्धान ढिसमिस हुने भएको छ । लडाकूले गरेको भ्रष्टाचारमाथि छानविन हुनुपर्ने माग एमाओवादीभित्रैबाट समेत उठ्दै आइरहेका बेला सेना समायोजन विशेष समितिले गरेको एउटा गलत निर्णयका कारण अनियमितता गर्ने कमान्डरहरुले उन्मुक्ति पाउने अवस्था सिर्जना भएको हो ।

सेना समायोजन विशेष समितिले आफ्नो कार्यकाल सकिने अन्तिम दिनको बैठकबाट लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारको छानविन गर्ने जिम्मा महालेखा परीक्षकको कार्यालयलाई दिने निर्णय गरेको हो । तर, यो छानविन अब औपचारिकता र नाम मात्रको हुने छ ।

ladaku

‘महालेखाले त निकास भएको रकम नियमअनुसार दिइएको छ कि छैन भनेर हेर्न मात्र हो’ विशेष समिति स्रोतले भने-’यो छानविनबाट केही हुने वाला छैन ।’ अनिमनको प्रमाणीकरणमा रहेका १९ हजार ६ सय २ लडाकू मध्ये करिव २४ सय विशेष समितिको प्रमाणीकरणमा भेटिएनन् । गत मंसिरमा विशेष समितिले पुनः प्रमाणीकरण गर्दा १७ हजार ५२ लडाकू मात्र शिविरमा भेटिएपछि शिविरमै नभएका लडाकूको नाममा रकम लगेको भन्दै कांग्रेस र एमालेले भ्रष्टाचारको छानविनको माग गरेका हुन् ।

सुरुमा लडाकू कमाण्डरहरुलाई रकम दिइएपछि पछि लडाकू आफैंले बुझ्ने गरेका थिए । १९ हजार ६ सय २ लडाकूले नै रकम बुझेको देखिएकाले महालेखाको छानविनमा कुनै भ्रष्टाचार नदेखिने स्रोतको दाबी छ । ‘शिविरबाट दिइएको रकम त लडाकूहरुले नै लगेको देखिन्छ’ स्रोतले भन्यो-’सबै लडाकू स्वयंमले रकम बुझेको भनेर भनिसकेपछि अब महालेखाले के छानविन गर्ने ?’ स्रोतले थप्यो-’लडाकूहरु शिविरमा छैनन् ।

शान्ति मन्त्रालयको तथ्यांकमा लडाकूहरुले रकम बुझेर लगेको देखिन्छ । अब के आधारमा कहाँ गएर छानविन गर्ने ?’ अधिकारीहरुका अनुसार रकम दिन गएको शान्ति मन्त्रालय र बैंकको टोलीले परिचयपत्र लिएर आउनेलाई रकम दिने गरेको थियो ।

स्रोतका अनुसार महालेखा परीक्षकलाई सिजम्मा लगाउनुको साटो न्यायिक छानविन आयोग गठन गरी त्यसमार्फत् छानविन गरिएको भए यथार्थ पत्ता लाग्न सक्थ्यो ।

लडाकू शिविरमा भएको भ्रष्टाचारबारे एकीकृत माओवादीभित्रै महासचिव पोष्टबहादुर बोगटी नेतृत्वको छानविन कमिटीको प्रतिवेदन बाहिर आउन सकिरहेको छैन । विशेष समितिले यसबारे महालेखालाई छानविन गर्न दिने निर्णय गरेकोमा एमाओवादी नेता वर्षमान पुनले नोटअफ डिसेन्ट लेखे पनि डा. बाबुारम भट्टराईले निर्णयमा सहमति जनाउनुभएको छ । ‘अन्य दलले यसलाई राजनीतिक विषय बनाएको हुनाले पुनले असहमति राख्नुभएको हो ।’- लडाकूको हिसाबसम्बन्धी विवादबारे एमाओवादी प्रवक्ता अग्नि सापकोटाले गत शनिवार नियमित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिनुभयो ।

कमेन्टहरु
Loading...