असारमा होइन, मंसिरमा चुनाव’

 गोरखा, चैत्र २३ – एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले असारमा संविधान सभाको निर्वाचन हुन नसक्ने दावी गरे । उनले भने, ‘जसले जे भने पनि असारमा हुँदैन,’ उनले भने, ‘कात्तिकको अन्त्य वा मंसिरको पहिलो साता चुनाव गर्नुपर्छ ।’ धानन्यायधिशको अध्यक्षमा चुनावी सरकार गठन भएपछि मुलुकमा सकारात्मक परिवर्तन आएको उनले बताए । एमाले गोरखाको छैठौँ जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाममा उदघाटन गर्दै उनले चुनावअघि बावुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनैतिक नियुक्ति खारेज हुने पर्ने बताए । ‘बावुराम सरकारले गरेका राजनैतिक नियुक्ति खारेजी नगर्न माओवादीले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेको छ,’ उनले भने । 

KP Oli

माओवादीको सत्ता कब्जाको उद्देश्य असफल भएर चुनावी सरकार गठन हुनु सकारात्मक परिवर्तन भएको उनको भनाइ थियो । ‘माओवादीको नेतृत्वको सत्ता कब्जा गर्ने घृणित उद्देश्य र सत्तामा टिकिरहने मधेसीहरुको लुटेरा, देशद्रोही सरकार हटेको छ,’ उनले भने, ‘देश चुनाव तर्फ अघि बढेको छ ।’

मुलुकमा सकारात्मक परिवर्तन भए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको उनले बताए । ‘पूर्व दरबारिया, लोकतान्त्रिक मूल्य मान्यतामा नआएका तत्त्वले चुनाव हुन नदिने षड्यन्त्र गर्न सक्छन्, ढुक्क हुनु हुँदैन,’ उनले भने । क्रान्ति र जनताको नाममा चुनाव हुन नदिने खतरा रहेको उनले औँल्याए । उनले भने, ‘देशबाट राजतन्त्र गएपनि माओवादी गएको छैन ।’

उग्रपन्थीहरुका कारण संविधान सभा विघटन भएको उनले दाबी गरे । एमाले नेता ओलीले भने, ‘संविधान बनाउन उपर्युक्त बनोटको संविधान सभा आवश्यक छ ।’

उनले कार्यकर्ताहरुलाई चुनावी अभियान लाग्न निर्देशन समेत दिए । ‘चुनावको लागि दृढताको साथ अघि बढ्नु होस्,’ उनले भने । अधिवेशनको बन्द सत्र शनिवार हुने अध्यक्ष रामशरण बस्नेतले जानकारी दिए ।  cp.

कमेन्टहरु
Loading...