पोखरामा ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ खुल्ने

पोखरा, २५ बैशाख/पोखरामा अन्तराष्ट्रिय रक्सी भट्टी खुल्ने भएको छ । युथ क्रियशन थियटरले संचालन गर्नेे ‘अन्तराष्ट्रिय रक्सी भट्टी’को चाँडै नै उद्घाटन हुने भएको छ । थियटरले संचालन गर्न लागेको यो भट्टी वास्तवमै रक्सी भट्टी नभएर नाटकको शिर्षक हो । नाटकको अहिले गैह«ापाटनस्थित नविन उच्च माध्यामिक विद्यालयमा रिहर्सल चलिरहेको छ ।

‘हामीले चाँडै नै अन्तराष्ट्रिय रक्सी भट्टी नामक नाटक पोखरामा मञ्चन गर्ने गरि रिहर्सलमा जुटिरहेका छौँ ।’ थियटरका अध्यक्ष कपिल शर्मा ‘सन्जोग’ले भने–‘लामो समयदेखि सुस्ताएको पोखराको रंगमञ्चलाई उठाउने उद्देश्यसहित नाटक प्रदर्शन गर्न लागेका हौँ ।’ पोखराको रंगमञ्चलाई फेरी ब्यूँताउनुसंगै व्यवसायिक रुपमा नाटक निरन्तर प्रदर्शन गर्दै जाने उनले जानकारी दिए ।

नाटकलाई पुराना नाट्यकर्मी कृष्ण उदासीले लेखन तथा निर्देशन गरिरहेका छन् । ‘फेरी नाटकसंग जोडिन पाउँदा मलाई निकै खुशी लागेको छ ।’ निर्देशक उदासीले भने–‘युवापुस्ताका कलाकारहरुसंगको रिहर्सलले मलाई पनि निकै उर्जा दिएको छ ।’ करिब एक दशकसम्म सुस्ताएको पोखराको रंगमञ्चलाई ब्युँताउनका लागी भएको पहललाई सबैले सकारात्मक रुपमा लिनुपर्ने उनले जनाए ।

नाटकमा अभिनयका लागी अहिले कपिल शर्मा, रेम बिक, ईन्दु श्रेष्ठ, मनोज घर्तीमगर, सौगात पोखरेल, सरु लामिछाने, दिपक त्रिपाठी, रेखा पुरी, विभु भुषाल, अस्मिता गुरुङ, मनिष पुरी, प्रकाश पराजुली लगाएतका कलाकारहरुले रिहर्सल गरिरहेका छन् । नाटकको प्राविधिक पक्षमा व्यवस्थापन तर्फ हेमन्त पराजुली, संगीततर्फ कमला रसाईली, प्रकाशतर्फ प्रकाश गिरी र सहनिर्देशनमा विभु भुषाल रहेका छन् । नाटकलाई जेठ महिनाको अन्त्यतिर प्रदर्शनमा ल्याईने थियटरले जनाएको छ ।

कमेन्टहरु
Loading...