चलिए पोखरा अभियान पुनः सञ्चालन गरिने

पोखरा, २९ जेठ ः बढी भन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्धेश्यका साथ पोखराका होटलकर्मीले भारतका केही मुख्य शहरहरुमा चलिए पोखरा अभियान पुनः सञ्चालन गर्ने भएका छन् । आगामी असार १० देखि १६ गतेसम्म भारतका गोरखपुर, बनारस, इलाहबाद र फैजाबादमा यस्तो अभियान सञ्चालन गर्न लागिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुनौली, भैरहवा, लुम्बिनी र नेपालगंजका पर्यटन व्यवसायीलाई समेत समेटेर कूल ३० जनाको समूहसहित यो अभियान सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।

गतवर्ष पनि संघले भारतका तीन ठूला शहर– गोरखपुर, लखनउ र कानपुरमा असार २१ गतेदेखि असार २६ गतेसम्म चलिए पोखरा अभियान सम्पन्न गरेको थियो । उक्त कार्यक्रम सो समयमा पनि भव्य रुपमा सम्पन्न भएको अनुभव संघसँग रहेको छ । संघले नेपाली पर्यटकका लागि जाउँ है पोखरा र तेश्रो मुलुकका पर्यटकका लागि पोखराः प्युर एण्ड पर्फेक्ट नारा सहित प्रवद्र्धनको अभियान विगतमा सञ्चालन गरिसकेको छ ।

क्षेत्रीय पर्यटन प्रवद्र्धनको अभियान अन्तर्गत चलिए पोखरा नारा दिएर भारतीय पर्यटक आकर्षित गर्न उक्त अभियानलाई पुनः निरन्तरता दिन लागिएको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । पोखरा र पोखरा वरपरका पर्यटकीय गाउँहरुलाई भारतीय शहरहरुमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्धेश्य रहेको पराजुलीले बताउनुभयो । ती शहरहरुमा पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधिहरु अगाडि बढाउने योजना अभियानले समेटेको छ । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत संचालन हुने यस अभिायनले नेपालमा भारतीय पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

अभियान सञ्चालन हुने शहरमा गर्मी याममा ४० डिग्री सेल्सियस भन्दा बढीको चर्को तापक्रम रहने गरेको छ । त्यस्तो उकुसमुकुसबाट मुक्त भई केही दिन भए पनि आनन्द लिन भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य हुन सक्ने विश्वास अन्तर्गत पनि अभियान संचालन गर्न लागिएको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा भारतको आर्थिक वृद्धिदर र भारतीयको प्रति व्यक्ति आय समेत बढ्दै गरेको अवस्था, उल्लेखित शहरहरुको जनघनत्व पनि बाक्लो रहेको र त्यहाँका नागरिकलाई पोखरासम्मको पहुँच समेत छोटो र सहज पर्ने हुँदा चलिए पोखरा अभियान पुनः अगाडि बढाउन लागिएको हो ।

अर्कोतर्फ सौखिन भारतीय पर्यटकको संख्यासमेत बढ्दै गएको, उनीहरु सँग समेत फुर्सदको समय हुने र त्यस्तो समयमा घुम्ने क्रम उनीहरुमा बढ्दै गएको अवस्थालाई ख्याल गरेर समेत कार्यक्रम सुरु गर्न लागिएको हो । मुक्तिनाथ लगायत नेपालका अन्य कतिपय धामहरुमा समेत भारतीय पर्यटक आउने जाने क्रम बढेको कारण धार्मिक पर्यटनलाई समेत बढवा दिन सकिने संभावना अभियानले समेटेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये ३३ प्रतिशत भारतीय छन् । तीनमा ३० प्रतिशत पोखरा आउँछन् । भारतीय पर्यटक सामान्यतया चितवन, पोखरा, मनकामना हुँदै प्रसिद्ध तीर्थस्तल मुक्तिनाथ पुग्न विर्सदैनन् ।

कमेन्टहरु
Loading...