उच्चपहाडी क्षेत्र हिमपातले सेताम्मे

२३ माघ, काठमाडौं । पूर्वी तराई बाहेक देशका प्रायः सबै ठाउँमा मंगलबार झरी परेको छ । चार दिनसम्म बादल मात्रै लागेकोमा मंगलबार भने वर्षा भएको हो । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएपछि जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि नै क्षणिक बर्षा हुने भविष्यवाणी गर्दै आएको थियो । तर मंगलबार बिहान मात्र वर्षा हुन सकेको हो ।

विभागका मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरलाई दिनुभएको जानकारी अनुसार मध्य र पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा मौसमको असर बढी देखिएको छ । मंगलबार बिहानसम्म सुर्खेतमा सबैभन्दा धेरै १६ दशमलव ९ र जुम्लामा १६ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । दाङ्गमा ११ दशमलव ६, भैरहवामा ११, नेपालगन्जमा १०, डडेलधुरामा ७ दशमलव २, दिपायलमा ६ दशमलव ४, धनगढीमा ४ दशमलव ४, पोखरामा ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

मंगलबार दिनभर झरी पर्ने मौसमविद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारदेखि भने मौसममा सुधार आउनेछ । यस वर्षको यो दोस्रो हिउँदे वषर्ा हो ।

उच्च पहाडी क्षेत्रमा हिमपात

वर्षालगत्तै उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जुम्ला, कालिकोट, रसुवा, लमजुङ लगायतका क्षेत्रमा हिमपात भएको छ । लमजुङको घनपोखरा, भुजुङ, सिउरुङ, ताघि्रङ, पसगाउँ, घेर्मु, विचौर, ईलमपोखरी, दूधपोखरी, भूलभूले, घेर्मु लगायत गाउँमा मंगलबार बिहानैदेखि हिमपात भएको स्थानीयबासिन्दाले बताएका छन् ।

जाजरकोटका नायकवाडा, रामीडाँडा, रोकायगाँउ, पैक गर्खाकोट, दह, मजकोट लगायतका ठाउँमा हिमपात भएको छ । रसुवाको लाङटाङ, गोसाइकुण्ड, चोलाङपाटी, चन्दनबारी, बृद्धिम, खाम्जिङ, गतलाङ, थुमन, नागथली, डांडागाउँको लेक, यार्साडाँडा, टिमुरेको खैदी लगायतका ठाउँमा पनि हिमपात भएको छ ।

देशका अरु ठाउँमा पनि हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमपातले डाँडाकाँडा सेतै भएपछि हिउँ खेल्न पाइने आशामा युवायुवती रमाएका छन् । खेतीपाती सप्रने भन्दै किसान पनि खुशी भएका छन् । तर हिमपातसँगैको चिसोले भने जनजीवन प्रभावित भएको छ ।

कमेन्टहरु
Loading...