हिमाल आरोही ताइवानी नागरिकको मृत्यु

६ जेठ, काठमाडौं । ल्होत्से हिमाल आरोहण गरेर फर्कने क्रममा सोमबार बिहान एक ताइवानी नागरिकको मृत्यु भएको छ । दुई दिनअघि बिरामी भएदेखि नै उनलाई उद्धार गर्ने प्रयास गरिए पनि हेलिकोप्टर पुग्न नसक्दा गएराति १ बजे चौथो क्याम्पमा उनको निधन भएको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत खिमलाल गौतमले अनलाइनखबरलाई बताउनुभयो ।

मृत्यु हुने ५८ वर्षीय ताइवानी नागरिकको नाम हसिओ सिह ली रहेको बताइएको छ । ७ हजार ८ सय मीटरको ल्होत्से हिमाल सफलतापूर्वक चढेर र्फकने क्रममा चौथो क्याम्पमा आइपुगेपछि उनका हातगोडा चल्न छाडेका थिए । असाध्यै मोटो जीउडाल भएकाले २/३ जना शेर्पाहरुको प्रयासले मात्रै उनलाई बोकेर तल ल्याउन नसकिएको गौतमले बताउनुभयो । आइतबार उनको उद्धारका लागि हुरी बतास र खराब मौसमका बावजुद बेसक्याम्पमा जोखिपूर्ण तरिकाले हेलिकोप्टर अवतरण गराइएको थियो ।

हेलीकोप्टरको ब्याट्री आधार शिबिरमै चार्जमा हालिएको थियो । तर, चीलाई ५ सय मिटरसम्म पनि बोकेर झार्न नसकेका कारण हेलीकोप्टरमा चढाउन नसकिएको बताइएको छ । ‘हेलीकोप्टरमा चढाउन नसकेपछि राति १ बजेतिर उहाँको निधन भयो । अहिलेसम्म शव समेत ल्याउन सकिएको छैन ।’- गौतमले भन्नुभयो । उनको शव बेसक्याम्पबाट हेलिकोप्टरमा ल्याउन ल्याउन साढे ७ हजार अमेरिकी डलर लाग्ने माग भएकाले परिवारका सदस्यहरुसँग सम्पर्क गर्ने प्रयास भैरहेको स्रोतले बतायो ।

आज पनि सगरमाथामा उस्तै भीड

आइतबार एकै दिन सगरमाथाको चुचुरोमा १ सउ ३५ जनाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यसैगरी सोमबार सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिरहेको गौतमले बताउनुभयो । सगरमाथा आरोहीको भीडका कारण सहयोगी शेर्पाहरुको व्यस्तता बढेको र आरोहीको उद्धारकर्ताको समेत अभाव खडिकन थालेको गौतमले बताउनुभयो । नेपाल सरकारका कर्मचारी गौतम आफैं पनि सगरमाथा आरोहण गर्ने प्रथम सरकारी कर्मचारी हुनुहुन्छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/72660/#sthash.8h2uK7mU.dpuf

कमेन्टहरु
Loading...