हडताल गरे बस कब्जामा लिएर चलाउन गृहमन्त्रीको निदेशन

काठमाडौ, ५ बैशाख /गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय सरकारले गरेपछि प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाले चलाउने बताएका छन् ।

मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्न प्रहरीलाई निर्देशन दिएका छन्।

‘सिन्डिकेट तोडेपछि व्यवसायी आन्दोलनमा जान सक्छन्, यसबाट सर्वसाधारणलाई मर्का पर्न नदिन बस कब्जामा लिएर सञ्चालन गर्ने गरी तयारीमा बस्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले अत्यावश्यक सेवा ऐन लगाएर बस नियन्त्रणमा लिने मन्त्रालयले जनाएको छ । गृहसचिव प्रेमकुमार राईले पनि सार्वजनिक यातायातजस्तो अत्यावश्यक सेवा अवरुद्ध पार्ने कार्य सह्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ,’ गृहसचिव राईले भने, ‘समितिहरुले हड्ताल गरेर यातायात बन्द गरे अब सिन्डिकेटवालाहरुलाई हिरासतमा राख्छौं।’

कमेन्टहरु
Loading...