हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कारबाट कवि के.सी. सम्मानित

पोखरा, ११ फागुन। कवि कुलबहादुर के.सी. हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कार–२०६९ बाट सम्मानित हुनुभएको छ।पोखरा–१६, बाटुलेचौरस्थित कवि के.सी. कै घर आँगनमा बिहीबार आयोजित समारोहबीच उहाँलाई सम्मान गरिएको हो। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सम्मान पत्र र पुरस्कार रकम रु.१५ हजार नगद प्रदान गरी उहाँलाई सम्मान गर्नु भएको थियो।यसैगरी कोषका संरक्षकद्वय रामबहादुर कोइराला र हरिदेवी कोइरालाले दोसल्ला र फूलमालाले सम्मान गर्नुभयोे।सो अवसरमा कवि तथा लोकगायिका हरिदेवी कोइराला समाजसेवी लीलाभक्त आचार्य, लोकगायक चेकबहादुर बरुवाल, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमी, प्रगतिशील लेखक संघ कास्कीका सचिव कृष्णराज अधिकारी, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, शुक्ला साहित्य समितिका अध्यक्ष नेत्रबहादुर बानियाँ, कस्केली अधिकृत समाजका अध्यक्ष दुर्गाबहादुर शाह, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ र रेडियो तरड्डका स्टेशनर मेनेजर हिमनिधि लौडारीले कवि कुलबहादुर के.सी.को साहित्यिक योगदानको चर्चा गर्दै बधाई ज्ञापन गरेका थिए।

समारोहमा लोकगायक पदमराज ढकाल, कवि रुद्रबहादुर थापा, लक्ष्मण गौतम, अम्बिका भट्टराई, देवी त्रिपाठीलगायतले कवि के.सी. का रचना वाचन गर्नु भएको थियो।
त्यस अवसरमा सम्मानित कवि के.सी.ले पुरस्कारबाट आफूलाई साहस थपिएको बताउनुभयो।कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको उक्त समारोहमा सदस्य ताराप्रसाद तिमिल्सिनाले कवि के.सी. को योगदानबारे प्रकाश पार्नु भएको थियो। आजीवन सदस्य छवि सुवेदीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव पद्मराज ढकालले गर्नुभएको थियो।

नौ वटा साहित्यिक कृति प्रकाशनमा ल्याई सकेका कवि के.सी. विगत एकवर्षदेखि अस्वस्थ हुनुभएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष पोखराबाट साहित्य तर्फ पहिलो पटक कवि के.सी.लाई सम्मान गरिएको हो। प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारबाट यस अघि संगीत विधामा लोकगायक नारायण रायमाझी सम्मानित भइसक्नुभएको छ। स्रष्टाकै घर आगँनमा पुगेर राष्ट्रिय पुरस्कार प्रदान गरिएको सम्भवतः यो पहिलो पटक हो।

कमेन्टहरु
Loading...