पूर्वराजा ज्ञानेन्द्र र अध्यक्ष प्रचण्डको जम्काभेट

पोखरा, ८ असोज / पूर्वराजा ज्ञानेन्द्रसँग फेरि एकपटक एमाओवादीका अध्यक्ष प्रचण्डको पोखरामा आइतवार जम्काभेट भएको छ । पश्चिमाञ्चलका बिभिन्न जिल्लाको धार्मिक भ्रमणको क्रममा तेस्रो दिन स्याङ्जा जिल्लामा पुगेर फर्किदै गरेका पूर्वराजा शाह र एमाओबादी अध्यक्ष प्रचण्डको सिद्धार्थ राजमार्गमा साँझ करिब ६ बजे जम्काभेट भएको थियो । पोखरा फर्किदै गरेका शाह र पोखराबाट कास्कीको पुम्दीभुम्दी गाविसमा रहेको विश्व शान्ति स्तुपा तर्फ जाँदै गरेका प्रचण्डको सिद्धार्थ राजमागमा रहेको कालीमाटी खोलामा जम्काभेट भएको थियो ।

सिद्धार्थ राजमार्ग छोडेर विश्व शान्ति स्तुपाको बाटो उकालो लाग्न लागेका प्रचण्डको सवारी र पूर्वराजाको सवारी जुध्दा शाहका समर्थकहरुले हुटिङ समेत गरेका थिए । एक्कासी जम्काभेट भएपछि प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीले गाडीबाट ओर्लेर दुबैतर्फको गाडी पास गराएका थिए । पूर्वराजा चढेको गाडी अगाडि हिडेपछि प्रचण्डको सवारीले पछाडी रहेका शाहका समर्थकको पाँचवटा गाडीलाई क्रस गरी स्तुपा तर्फ लागेको थियो ।

कास्कीको पुम्दीभुम्दीस्थित अनदु डाँडामा रहेको लजमा प्रचण्ड बसेका छन् भने डाँडामुनीको रानीबनभित्र फेवातालको किनारामा रहेको फिस्टेल लजमा पूर्वराजा ज्ञानेन्द्र शाह बसेका छन् । तीन दिनदेखि गण्डकी र धौलागिरी अञ्चलका विभिन्न जिल्लाहरुमा धार्मिक भ्रमणका लागि भन्दै पूर्वराजा शाहले पोखरामा बसाई सारेका हुन् । राजधानीको कोहाहलबाट सुटुक्क शान्त ठाउँ खोज्दै प्रचण्डले पनि बसाई पोखरा सरेका छन् ।

कमेन्टहरु
Loading...