पोखरामा गजल उत्सव हुने, नेपालका गजलकार र गजलप्रेमी एकै ठाउँमा जुट्ने

पोखरा, ८ वैशाख/पहिलो पटक सिर्जनाको मूल्य खोजेर नेपाली साहित्यमा नयाँ परम्पराको थालनी गरेको पोखराले फेरि अर्को एउटा विशिष्ट प्रस्तुती नेपाली साहित्यलाई दिने भएको छ । अहिलेसम्म पनि हेयका दृष्टिले हेरिने विधा गजललाई जनजीविका र जनमानसको प्रिय विधा बनाउनका लागि ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नारासहित क्रियाशील गजल सन्ध्या, पोखराले देशभरका गजलकारहरुलाई पोखरा भित्र्याएर गजल उत्सव गरी नयाँ वर्ष २०७०लाई स्वागत गर्ने भएको छ ।वैशाख २८ गते पोखरा सभागृहमा हुने गजल उत्सव भव्य बनाउनका लागि सन्ध्याका अध्यक्ष मन क्षेत्रीको संयोजकत्वमा मूल आयोजक समिति तथा अन्य पोखरेली वाङ्मयिक संस्था र साहित्यकारहरुको सहभागितामा विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्तरगत बुद्ध गुभाजूको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उदिपराज ढुङ्गानाको संयोजकत्वमा अर्थ व्यवस्थापन उपसमिति, श्रीकान्त लुइँटेलको संयोजकत्वमा टिकट व्यवस्थापन उपसमिति र मन क्षेत्रीको संयोजकत्वमा गजलकार चयन उपसमिति पनि गठन गरिएको छ ।

नयाँ वर्षसँगै पोखरामा हुन लागेको कार्यक्रमले नेपाली साहित्यको गजल विधामा विशेष योगदान दिन सक्ने अर्थ व्यवस्थापन उपसमितिका संयोजक उदिपराज ढुङ्गानाले बताए । गजलप्रेमीहरुले टिकट काटेर नेपालका चर्चित गजलकारहरुका गजल गायन र वाचन सुन्न सक्ने कार्यक्रमका लागि प्रायोजक, सहप्रायोजक तथा उपप्रायोजकहरुको पनि खोजी भइरहेको पनि ढुङ्गानाले बताए ।

गजलवाचनका अलावा दिनेश गौतम, राज सिग्देल, विनोद बानियाँ लगायतका गायक÷गायिकाहरुले पनि प्रत्यक्ष गजल गाउने छन् । “हामी निकै उत्साहित भएका छौं, यो नेपाली गजलको एक ऐतिहासिक कार्यक्रम हुनेछ” गजल सन्ध्याका अध्यक्ष क्षेत्रीले बताए ।

कमेन्टहरु
Loading...