शीर्ष नेताहरुको छिनोफानो महासमितिबाट गछौं : गगन

११ फागुन, काठमाडौं । नेपाली कांग्रेस युवा नेता गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयविरुद्ध प्रधानन्यायधीशको नेतृत्वमा सरकार बनाउन अग्रसर शीर्ष नेताहरुको विषयमा महासमिति बैठकबाट छिनोफानो गर्ने चेतावनी दिनु भएको छ ।

बहालबाला प्रधानन्यायधीश बाहेकका सबै विकल्प खुल्ला राख्ने गरी पार्टीले निर्णय गरेको भन्दै उहाँले भन्नुभयो-’शीर्ष नेताहरुले अहिले गरेको काम किर्ते र जालसाझी पूर्ण छ । केन्द्रीय समितिको निर्णय विपरित गएकोले अब महासमितिले त्यसको छिनोफानो गर्नुपर्छ ।’ रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा थापाले शक्ति पृथकिरण लोकतन्त्रको प्राण भएको भन्दै शीर्ष नेताहरुबाहेक सबै नेता बहालवाला प्रधानन्यायाधीशको नेतृत्वको विरोधमा रहेको दावी गर्नुभयो ।

स्वतन्त्र न्यायलयलाई ध्वस्त पार्ने एमाओवादीको योजनाका साथ प्रधानन्यायाधीशको प्रस्ताव आएको दावी गर्दै थापाले एमाओवादीले निर्वाचन गर्ने भन्दा पनि सत्ता लम्ब्याउने उद्देश्य प्रस्तावमा अन्र्तनिहीत रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’खिलराज रेग्मी प्रधानन्यायाशीध हो कि दलको प्रधानमन्त्री उमेदवार ? यस्तो विवादित रहेर न्यायपालिका स्वतन्त्र रहन सक्दैन ।’

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता शक्ति बस्नेतले संविधानबाट मात्रै निकास ननिस्कने भन्दै संवैधानिक प्रक्रियाबाट बाहिर राजनीतिक सम्झौताको आधारमा मात्र निकास निकाल्न सकिने स्पष्ट गर्नुभयो । उहाँले कांग्रेस र एमालेसहितका दलहरुको चिन्ता निर्दलीय प्रधानमन्त्री हुने भयो भन्ने कि चुनाव हुने भयो भनि प्रश्न गर्नुभयो ।

नेकपा-माओवादीका नेता लेखनाथ न्यौपानेले स्थानीय निकाय कर्मचारीको हातमा दिदा भ्रष्टाचार ब्याप्त भएको र स्थानीय निकास असफल प्रमाणित भईसकेको अवस्थामा केन्द्रीय नेतृत्व पनि कर्मचारीलाई दिदाँ मुलुकले निकास नपाउने दावी गर्नुभयो ।सदभावना पार्टीका महासचिव मनिष सुमनले राजनीतिक दलहरुको एक अर्का प्रति विश्वास नभएकोले स्वतन्त्र ब्यक्तिको नेतृत्व आवश्यक भएको बताउनु भयो । cp. onlinekhabar

कमेन्टहरु
Loading...