फेवा महोत्सवलाई संघसंस्थाले सघाउने

पोखरा, १८ चैत ः पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २९ देखि आगामी वैशाख २ गतेसम्म पोखराको फेवा किनार स्थित वसुन्धरा पार्कमा संचालन हुने नवौं फेवा नववर्ष महोत्सव २०६९ लाई सफल बनाउन विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महोत्सव व्यवस्थापन समितिद्वारा आइतवार लेकसाइडमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमममा विभिन्न आमा समूह, पर्यटन सम्बद्ध संघसंस्था र राजनीतिक पार्टीका प्रतिनिधिले आफ्नो तर्फबाट महोत्सवलाई सक्दो सहयोग गर्ने भन्दै सफलताको शुभकामना समेत व्यक्त गरे ।

सो अवसरमा बोल्दै महोत्सवका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष विकल तुलाचनले एउटा संस्थाको मात्र पहलले महोत्सव सफल हुन नसक्ने भन्दै सबै संघसंस्था र आमा समूहको सहयोग पनि महोत्सवका लागि आबश्यक पर्ने बताउनुभयो । यसैगरी महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट वसुन्धरापार्क सम्म सांस्कृतिक झाँकी सहितको ¥याली निक्लने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो ।

संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले फेवा तालको संरक्षणको मुख्य उद्धेश्य बोकेर महोत्सव आयोजना गर्न लागिएको जानकारी दिंदै नेपाल टेलिभिजनबाट देशविदेशमा महोत्सवको प्रत्यक्ष प्रशारण हुने जानकारी दिनुभयो । यसैगरी फेवा ताल संरक्षणका लागि संघले दैनिक दुई वटा डुंगा ताल संरक्षणकै लागि संचालन गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

संघका सल्लाहकार गोविन्दराज पहारीले पोखरा नेपालमा मात्र नभई विदेशमा समेत प्रख्यात हुँदै गएको बताउँदै सबै विद्यार्थी हुन् वा अन्य नेपाली धेरै जना पोखरा आउने मन पराउने गरेको बताउनुभयो । उहाँले पोखराको संरक्षण र प्रवद्र्धन अहिलेको मुख्य चासो हुनुपर्ने सुझाव राख्नुभयो । संघका सल्लाहकार गिरिराज अधिकारीले महोत्सव सफल पार्न सबैसँग सहयोगको आग्रह गर्नुभयो । संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले संघले आयोजना गरेको महोत्सव सफल पार्न आमा समूहको अहं भूमिका हुने बताउँदै अन्य संघसंस्थाले पनि उत्तिकै चासोका साथ महोत्सवलाई सफल पार्न सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...