पोखरामा हुने क्रस दी बोर्डरमा पद्म ज्योति आउँदै

पोखरा, १० साउन /पोखराको लेकसाइडमा मासिक रुपमा सञ्चालन हुँदै आएको उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम क्रस दी बोर्डरमा यो महिना प्रतिष्ठित उद्यमी पद्म ज्योति आउने भएका छन् ।साउन ११ गते शुक्रबार क्रस दी बोर्डर कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुन ज्योति ग्रुपका अध्यक्ष पद्म पोखरा आउन लागेका हुन् ।

नेपाली व्यावसायिक घरानामा छुट्टै पहिचान बनाउन सफल ज्योति ग्रुपले अहिले उत्पादन र सेवाका क्षेत्रहरुमा लगानी गरेको छ । यो समूहले हिमाल आइरन स्टिल, हिमाल अक्सिजन, कार, मोटरसाइकल, पम्पसेट, जेनेरेटर, औषधी, ओल्डिङ, फाइनान्स, ट्राभल लगायत क्षेत्रमा लगानी गरेको छ । ग्रुपले जलविद्युत, बिमा, अस्पताल लगायतको क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । ज्योति ग्रुपले २ हजार ५ सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।

नेपाली उद्यम व्यवसायमा छुट्टै सफलता हाँसिल गर्न सफल ग्रुपका अध्यक्ष पद्य ज्योतिको सफलता र उद्यमशीलताको विकास सम्बन्धी उनको धारणा बुझ्न पनि यो कार्यक्रमले सहयोग गर्ने आयोजक तथा होटल स्नोल्यान्डका सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए । ‘पोखराका उद्यमी व्यवसायी र युवाहरुलाई प्रोत्साहन गर्न हामीले महिनैपिच्छे यो कार्यक्रम गर्दै आएका छौं,’ थापाले भने, ‘यसले युवालाई हामी पनि सफल हुन सक्छौं भन्ने विश्वास दिलाउनेछ ।’

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)का अध्यक्ष समेत रहेका पद्म ज्योतिले शुक्रबार दिउँसो ४ बजे होटल स्नोल्यान्डमा हुने कार्यक्रम क्रस दी बोर्डरमा उद्यमशीलताबारे बोल्ने छन् । ‘उद्यमशील बन्न चाहने र त्यसबार बुझ्न चाहने जो कोही पनि कार्यक्रममा सहभागी हुन सक्छ,’ आयोजक होटल स्नोल्यान्डका सञ्चालक थापाले भने, ‘कार्यक्रममा आउन कुनै शुल्न तिर्नुपर्दैन ।’

सोही अवसरमा राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)का अध्यक्ष पद्म ज्योतिसँगै उपाध्यक्ष कुशकुमार जोशी, महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष शुकुन्तलाल हिराचन, सह कोषाध्यक्ष उमेश श्रेष्ठ, सचिव सरोज पाण्डे र सुरेश प्रधान, कार्यकारी सदस्यहरु मनकामना केवलकारका सञ्चालक राजबाबु श्रेष्ठ, दीपक मलहोत्रा, राजेशबाबु श्रेष्ठ, अरनिको राजभण्डारी, होमनाथ उपाध्याय लगायत पनि क्रस दी बोर्डरमा आउँदैछन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरेली उद्यमी व्यवसायी तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ लगायत पोखराका लब्ध प्रतिष्ठित उद्यमी व्यवसायीहरुको जमघटसमेत रहनेछ ।

कमेन्टहरु
Loading...