कांग्रेस महासमिति बैठक : नेताहरुले सम्बोधन गर्दै

परासी, चैत्र २६ – नवलपरासीको सदरमुकाम परासी स्थित आदर्श उच्चमाविको परिसरमा नेपाली कांग्रेस महासमिति बैठकको उदघाटन सत्र सुरु भएको छ । पार्टी सभापति शुशिल कोइरालाले दीप प्रज्वलन गरी उदघाटन गरेका हुन् । हाल पार्टीका नेताहरुले सम्बोधन गरिरहेका छन् । हालसम्म पार्टी कोषाध्यक्ष चित्रलेखा यादव, विमलेन्द्र निधि, महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरिसकेका छन् । सभालाई पार्टी उपसभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र पार्टी सभापति कोइरालाले सम्बोधन गर्न बाँकी छ ।

।।।।।।।।।।।।।।।।।।

 

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि नवलपरासीमा हुँदैछ । महासमितिको उदघाटन कार्यक्रम सदरमुकाम परासीमा तथा बन्द सत्र त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष धाममा  राखिएको छ ।

देशभरबाट कांग्रेसका महासमिति सदस्य तथा नेताहरु नवलपरासी आइपुगेका छन् । कतिपय स्थानबाट आउने क्रम जारी छ । १२ औं महाधिवेशनपछिको यो पहिलो महासमिति बैठक हो । परासीस्थित आदर्श उच्चमाविको प्रांगणमा पार्टी सभापति सुशील कोइरालाले बैठक उदघाटन गर्ने कार्यक्रम छ । उदघाटन सत्रमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने छ । बन्द सत्र भने भोलिदेखि त्रिवेणीमा हुने छ । महासमिति बैठकलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

परासी बजारसंगै बर्दघाटदेखि त्रिवेणीसम्मको बाटोमा कांग्रेसको झन्डाले रंगी चंगी बनाइएको छ । बैठकमा १ हजार ३ सय ३८ महासमिति सदस्य र अन्य पर्यवेक्षकहरुको सहभागिता रहने छ ।

 

करेण्ट लागेर एक कार्यकर्ताको मृत्यु, दुई घाइते

पंचनगर गाविसको भुतहामा स्वागतद्धार बनाउने क्रममा करेण्ट लागेर एक कार्यकर्ताको मृत्यु भएको छ । स्वागतद्धार बनाउँदै गर्दा कार्यरत चारमध्ये पंचनगर २ का २८ बर्षीय विमल कँडेलको मृत्यु भएको हो ।

करेण्ट लागेका दुई जनाको बुटवलमा उपचार भइरहेको छ । पंचनगर-७ का पृथ्वी चौधरी र पंचनगर २ का कमल पराजुलीको उपचार भइरहेको छ, भने स्थानीय विमल घिमिरे खत्तरा मुक्त रहेको प्रहरीले जनाएको छ । स्वागतद्धार बनाउँदा फलामे पोलले विद्युत प्रशारणलाईमा छुँदा करेण्ट प्रवाह भएको थियो ।

कमेन्टहरु
Loading...