जातीय छुवाछूत पीडितलाई क्षतिपूर्ति

फैसलाको कार्यान्वयनले देशभरका छुवाछूत पीडितलाई न्याय माग्न प्रेरित गरेको छ

पोखरा, माघ २७/जातीय छुवाछूतका आधारमा गाउँलेबाट कालोमोसो लगाएर कुटपिट गरिएका घान्द्रुक गाउँका शिक्षक कर्णबहादुर नेपालीले क्षतिपूर्ति पाएका छन् । जातीय विभेदविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीले आइतबार उनलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ । जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बनेपछि त्यसअनुसार न्याय पाउनेमध्येका पछिल्लो उदाहरण कर्णबहादुर बनेका छन् । छुवाछूतविरुद्धका मुद्दा र अदालती फैसला कार्यान्वयनका उदाहरण कास्कीमा मात्रै नभई देशभरमै साह्रै कम रहेको बताउँछन् अधिवक्ता शिव सुनार ।

Karna Bahadur Nepali Pokhara
क्षतिपूर्ति लिन आएका कर्णबहादुर नेपाली आइतबार कास्की जिल्ला अदालत प्रांगणमा ।

‘कर्ण सरले क्षतिपूर्ति पाउनु भनेको छुवाछूत फौजदारी अपराध सरह दण्डनीय छ भन्ने सन्देश जानु हो,’ उनले भने, ‘यसले देशभरका छुवाछूत पीडितलाई न्याय माग्न प्रेरित गरेको छ ।’ छुवाछूतविरुद्ध आवाज उठाउँदा दुई वर्षअघि घान्द्रुकको तालबाराही प्राविका प्रधानाध्यापक नेपालीलाई केही स्थानीयले कालोमोसो लगाएका थिए । त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश हेमराज पन्तको एकल इजलासले २०६९ फागुन १७ गते पीडकलाई जरिवाना गर्दै नेपालीलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

त्यसविरुद्ध पुनरावेदन नजाने र जरिवाना तिर्दै क्षतिपूर्ति रकमसमेत उपलब्ध गराउने गरी प्रतिवादीले हालै धरौटी फिर्ता लिएपछि अदालतले फैसला कार्यान्वयन प्रक्रिया अगाडि बढाएको थियो । आइतबार अदालतको तहसिलदार शाखाले पीडित नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । क्षतिपूर्ति रकम प्रतिवादी ८ जनाबाट लिएको धरौटी ४ लाख रुपैयाँबाट उपलब्ध गराउने जानकारी अदालतका स्रेस्तेदार दीनबन्धु बरालले दिए ।

नेपालीलाई जातीय विभेद गरी कालोमोसो लगाएको भन्दै अदालतले घान्द्रुकका दुर्गामाया, विष्णुबहादुर,  कुमार, रामप्रसाद,  यमबहादुर,  किरण,  किसम र रेणुका गुरुङलाई दोषी ठहर गरेको थियो । अदालतले जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार उनीहरुबाट जनही १० हजारका दरले ८० हजार क्षतिपूर्ति उपलब्ध गराउने र ९० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो । दोषी ठहर भएका ८ मध्ये रेणुका र रामप्रसाद गुरुङ क्रमशः शिक्षक र कर्मचारी भएका कारण उनीहरुलाई अन्यभन्दा ५÷५ हजार बढी जरिवाना तिराउने अदालतको फैसला थियो । फैसला भएको एक वर्षपछि नै भए पनि कार्यान्वयन स्वरुप क्षतिपूर्ति पाएपछि नेपाली औधी खुसी छन् । ‘जातीय छुवाछूतबारे न्याय खोज्ने हो भने पाइँदोरैछ भन्ने पाठ सिकियो,’ उनले आइतबार नागरिकसँग भने, ‘यसले देशभरकै दलितलाई खुसी बनाउँछ ।’

गाउँका सबै घरमा खानेपानीको धारा जडान भएपछिको सार्वजनिक कार्यक्रममा दलितसहितलाई सहभागी गराएर भोज गर्नुपर्नेबारे घान्द्रुकमा विवाद भएको थियो । त्यसको केही दिनपछि २०६८ कात्तिक २६ गते नेपालीलाई केहीले कालोमोसो दलेका थिए । घान्द्रुकका ६० घरमा गोर्खा वेलफेयरको सहयोगमा खानेपानीका धारा जडान गरिएको थियो । खानेपानी योजनाको अगुवाइ कर्णबहादुरले नै गरेका थिए । (यो समाचार नागरिक न्युज डट कमबाट साभार गरिएको हो ।)

कमेन्टहरु
Loading...