क्षेत्री समाजको दुई दिने भेला पोखरामा सुरु

पोखरा–०७,चैत्र/क्षेत्री समाज नेपालको आयोजनामा भावि रणनिति आजको आवश्यकता विषयक पश्चिमाञ्चल स्तरीय दुई दिने भेला पोखरामा सुरु भएको छ । भेलाको उद्घाटन गर्दै समाजसेवी तथा पूर्व सभासद् सूर्यबहादुर केसिले क्षेत्री समाजले अबको चुनौतीलाई गहन रुपले विचार गरी पार्टी खोल्ने वा राजनीतिक दलसँग सहकार्य गर्ने स्पष्ट नीति तय गरेर मात्र राजनीतिक दल खोल्न सुझाव दिए । उनले सम्पूर्ण क्षेत्रीहरु एक भएर अगाडी बढ्न पनि आग्रह गरे । कार्यक्रममा भावि रणनीति कार्ययोजना र अवधारणापत्र विषयक कार्यपत्र प्रस्तुत गर्दै क्षेत्री समाज राजनीतिक दलमा गएपनि समाज भने सदैव स्वतन्त्र रहने बताए । उनले जातीय हक र अधिकार सुरक्षित गर्नका लागि समानुपातिक निर्वाचनमा क्षेत्रीहरुको उम्मेद्धारी सुनिश्चित गराउनेमा जोड दिए ।

क्षेत्री समाज नेपालका परिष्ठ उपाध्यक्ष तेज प्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिव बहादुर कोईराला, नेकपा एमाले कास्कीका सचिव कृष्ण थापा, क्षेत्री महिला समाज नेपालकी महासचिव उर्मिला खड्का, क्षेत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्की लगायतका वक्ताहरुले जातीय राज्यको विरुद्धमा सम्पूर्ण जातीहरु नेपाल राष्ट्र बचाउन एक भई लाग्नुपर्नेमा जोड दिएका थिए ।

पश्चिमाञ्चल भरिका गरी ४ सय ५० जना अगुवा क्षेत्रीहरुको सहभागिता रहेको छ । प्रत्येक जिल्लाबाट १०–१० जना, अञ्चलबाट १० जना, केन्द्रिय सल्लाहकार समिति, केन्द्रिय समितिको सहभागिता रहेको छ भने कास्कीका गाउँ, नगर र वडाबाट समेत प्रतिनिधहरुको सहभागिता रहेको समाजले जनाएको छ । समाजले देशका पाँचै विकास क्षेत्रमा अन्तरक्रिया कार्यक्रम गरि ठोस निर्णय गर्ने महासचिव कुमार खड्काले बताए ।

कमेन्टहरु
Loading...