वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रौनियार घुससहित पक्राउ

काठमाडौं, २७ असार/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विषेश सुचनाका आधारमा उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनीहरु माथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि डा. रौनियारलाई प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति पदबाट हटाउन सरकार समक्ष सिफारिस गरेको थियो । प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै सिनेटबाट गठित छानविन समितिले डा. रौनियारलाई कारवाहीको सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा पदबाट हटाइएपछि डा. रौनियार सर्वोच्च अदालत गएका थिए । अदालतबाट अन्तरिम आदेश लिएर उनी पुनः पदमा बहाली भएका थिए ।

प्रेस विज्ञप्ति :- मिति २०७६।०३।२६ गते
—————————————————-
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित नियन्त्रणमा
—————————————————-
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

कमेन्टहरु
Loading...