खानेपानीको वार्षिकोत्सवमा रक्तदान

पोखरा, १४ फागुन । नेपाल खानेपानी सस्थानको २४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली काँग्रेस निकट नेपाल खानेपानी सस्थान कर्मचारी संघ इकाई समिति पोखराको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको इकाई समिति पोखराका अध्यक्ष नरेन्द्रमान श्रेष्ठले जानकारी दिएका छन् ।

संघले आफ्नो वार्षिक कार्यक्रम मनाउने क्रममा फागुन १५ गते मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । रक्तदान कार्यक्रमलाई समाजसेवा र मानव धर्मको रुपमा लिएको समेत संघले बताएको छ । सस्थानमा रहेका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहने उक्त कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रले प्राविधिक सहयोग गर्ने संघले जनाएको छ ।

खानेपानी सस्थानमै पहिलो पटक हुन लागेको रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहने आयोजकले बताएको छ । सस्थानको कार्यालय पार्दी शाखामा हुने रक्तदान कार्यक्रममा इच्छुकलाई उपस्थितिको लागि आग्रह समेत गरेको कार्यक्रम संयोजक मनहरि बरालले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...