नेपालमा पहिलो पटक बर्ड फ्लुले मानिसको ज्यान लियो

काठमाडौं, २० वैशाख /नेपालमा पहिलो पटक बर्ड फ्लुबाट एक जनाको ज्यान ग​एको छ ।मानिसमा पहिलो पटक बर्ड फ्लु भेटिएसंगै एक युवकको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको छ । ती युवकको परिचय भने गोप्य राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जा विरुद्धको औषधि समेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापान स्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो ।वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।

मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन । एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।यो भाइरस पहिलो पटक सन् १९९६ मा पत्ता लागेको थियो । विश्व श्वास्थ्य संगठनका अनुसार सन् २००३ देखि हालसम्म विश्वभर ८ सय​ ६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।

कमेन्टहरु
Loading...