यो इण्डिया हो कि विराटनगर ?

१२ बैशाख, बिराटनगर । झट्ट हेर्दा यो दृश्य भारतको कुनै सरकारी कार्यालय परिसरको हो कि जस्तो लाग्न सक्छ । तर, वरिपरि तारजाली लगाइएको र भारतीय झण्डा फहराइएको यो महल कुनै भारतीय भूमिको नभई मोरंग जिल्लाको विराटनगर १७ मलाया रोडमा रहेको छ । र, यो त्यही घर हो, जसलाई वैद्य माओवादी समूहले तत्कालै हटाउन नेपाल सरकार र भारतीय दूताबाससँग बारम्बार माग गर्दै आएको छ ।

news-pic

भारतीय झण्डा फहराई कडा सुरक्षा दिइएको यस घरलाई भारतीय दूताबासको फिल्ड अफिस नाम दिइएको छ । तर, यो कार्यालय हटाउन अघिल्लो सरकारका पालामा नेपाल सरकारले दूताबासलाई लिखित पत्राचार गरिसक्दा पनि भारतले यसलाई अटेर गरेर राखिरहेको छ । अझ केही व्यक्तिहरुलाई उचालेर भारतीय पक्षले उक्त कार्यालय हटाए नेपालकै अहित हुने लविङसमेत भइरहेको छ ।

भारतमा बेलायती साम्राज्यले शुरुमा व्यापारका लागि इष्ट इण्डिया कम्पनी खोलेर त्यसैका माध्यमबाट सिंगै देश कब्जा गरेझैं विराटगरमा खोलिएको फिल्ड कार्यालयको कथा पनि ठ्याक्कै यस्तै छ । सन् २००८ मा कोशी नदीका बाढी पीडितका लागि भनेर यो कार्यलय स्थापना गरिएको हो । सामान्य टेबल र कुर्सी राखेर खडागरिएको कार्यालय नेपाल सरकारले सन् २०११ मै हटाउन निर्देशन दिएको थियो । तर, परराष्ट्र मन्त्रालयले दुई वर्ष पहिले नै कार्यालय हटाउन दुतावासलाई पत्र लेखे पनि भारतीय दूताबासले नेपाल सरकारको आग्रहलाई पूरै बेवास्ता मात्रै गरेन, कार्यालयलाई विस्तार गरेर अधिकृत स्तरको कर्मचारी राख्नुका साथै बरगाछीबाट कार्यालय सारेर मुख्य बजारमा पुर्यायो । दुतावासले अटेर गरेपछि गत फागुन दोस्रो साता तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुतावासलाई फील्ड कार्यालय हटाउन अर्को पत्र लेखे । तैपनि दुतावासले नेपाल सरकारको पटक पटकको निर्देशनलाई बेवास्ता गर्दै अहिलेसम्म कार्यालय हटाउन चासो दिएको छैन ।

कोशी पूर्व भारतीयहरुले कार्यालय स्थापना गरेर नेपालको विकास निर्माण एवं अन्य राजनीतिक मामिलामा चर्को हस्तक्षेप गर्दै आएका छन् भने मिथिला क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन गरेर ढुंगा, गिटी र बालुवा भारत ओसार्ने काम गरिएको छ । भारतको सडक विस्तारसँगै नेपालको प्राकृतिक सम्पदामाथि ठूलो दोहन भारतीय पक्षबाट भइरहेको छ । यस विषयमा राष्ट्रपति डा रामवरण यादवले पनि चिन्ता प्रकट गर्दै आइरहनुभएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...