विप्लव माओवादीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

पोखरा, २९ फागुन /तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) माआवादी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनले सरकार वार्तामा बोलाउदा नआउने र बम पड्काउन थाले पछि प्रतिबन्ध लगाउने निर्णय गरेको बताए । विप्लव माओवादीबाट राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक बढेपछि सरकारले कडा नीति लिएको उनको भनाई छ ।

पछिल्लो समय विप्लव माओवादीले अधिकांश ठूला कर्पोरेट हाउस तथा सञ्चार गृहहरूमा चन्दा माग्दै धम्की दिन थालेको थियो । केही व्यक्तिलाई भौतिक कारबाही गर्ने सूचीमा राखेको समेत फेला परेको स्रोत बताउँछ ।

सरकारले विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउन छुट्टै कानुन वा विधेयक भने ल्याएको छैन । अहिलेलाई राजनीतिक रूपले मात्र प्रतिवाद गर्न खोजेको उनले बताए । विप्लव समूहले केही दिनअघि ललितपुरस्थित एनसेलको प्रधान कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको थियो।

त्यसयता प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहविरूद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् ।

कमेन्टहरु
Loading...