वर्षमा १५ लाख पटक भूकम्प !

काठमाडौ, ७ वैशाख /अघिल्लो र यस साता जापान, इक्वेडर, अफगानिस्तान लगायतका मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने( कतै नेपालमा फेरि गत वर्ष वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर ।

तर भूकम्पको भविष्यवाणी गर्न नसकिए पनि यसको विषयगत प्रकृति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेको खबर आजको अन्नपूर्णमा विकास थापाले लेखेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्येक वर्ष चार रेक्टर स्केलमाथिका भूकम्प ५० पटक भन्दा बढी गएका छन् । उनले भने, ‘वैशाख १२ गतेपछि मात्र नेपालीहरुको मानसिकतामा परिवर्तन भएर भूकम्पप्रति सजगता र भय बढेको हो ।’

अधिकारीका अनुसार विश्वमा वर्षभरि १५ लाखपटक भूकम्प जान्छ । सामान्यतया प्रत्येक वर्ष कही न कही ८ रेक्टर स्केलका भूकम्प एकपटक गएको देखिन्छ ।

एक वर्षमा सातदेखि ७।९ रेक्टर स्केलका भूकम्प १५ पटक जाने गरेको अधिकारीले बताए । ‘मध्य नेपालमा गत वैशाख १२ गते आएको भूकम्प दुई सय ५० वर्षछिको हो,’ उनले भने, ‘वैशाख १२ पछि नेपालमा सानाठूला गरेर३० हजार पटक भूकम्प गएका छन् ।’

कमेन्टहरु
Loading...