मध्य र पूर्वमा निरन्तर वर्षा, पश्चिम सुख्खै

काठमाडौ, जेष्ठ १७ – करिब १० दिनदेखि राजधानीसहित मध्यभाग र पूर्वीभागका जिल्लामा दिनैजसो वर्षा भइरहेको छ । तर सुदूर र मध्यपश्चिमका जिल्लामा पि्र-मनसुनको प्रभाव परेको छैन । मध्यपश्चिम र सुदूरपश्चिम पूरै सुख्खा छ । राजधानीमा भने औसतभन्दा दोब्बर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मे महिनामा राजधानीमा सरदर १२३ मिलिमिटर वर्षा हुनेमा बिहीबारसम्म २४४ मिलिमिटर वर्षा भइसकेको छ, त्यो १९७ प्रतिशत बढी वर्षा हो । राजधानीसहित पूर्वी पहाडका विभिन्न जिल्लामा मनसुनकै झल्को दिने गरी दिनहुँ वर्षा भइरहे पनि सुदूर र मध्यभागमा वर्षा हुन नसक्दा किसान पिरोलिएका छन् र उत्पात गर्मी बढेको छ । सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा मकैबाली सुकेको छ भने किसानले धानको बीउसमेत राख्न पाएका छैनन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखामा वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार पूर्वीय वायुको प्रभावका कारण राजधानीसहित पूर्वी र मध्यभागमा वर्षा बढी भएको हो । ‘पूर्वीय वायु पूर्व र मध्यभागमै केन्द्रित छ,’ उनले कान्तिपुरसित भने, ‘अझै केही दिन मध्य र पूर्वी जिल्लामा वर्षा भइरहन्छ ।’

उनका अनुसार पूर्वीय वायु एक सातादेखि मध्य र पूर्वी भागमै केन्दि्रत भएको छ । मौसमविद् श्रेष्ठका अनुसार बंगलादेश र भारतको पश्चिम बंगाल तथा भारतकै उडिसामा केही दिन अघिदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रबाट उत्पन्न भएको प्रभावले पूर्वी र मध्य नेपालमा वर्षा भएको हो ।

बुधबारदेखि झनै उक्त प्रभाव नेपालतिर सक्रिय ढंगले बढ्दै गएकाले वर्षा झन् बढ्ने उनले बताए । बिहीबार राति पनि मध्य र पूर्वीभागमा भारी वर्षा हुने महाशाखाको अनुमान छ । शुक्रबारदेखि पूर्वीय वायुको प्रभाव पश्चिमतिर धकेलिँदै जाने भएकाले केही दिनपछि मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लामा पनि वर्षा हुने उनले जनाए । वर्षा नभएका कारण मध्य र सुदूरपश्चिमका जिल्लामा तापक्रम बढेको छ । बिहीबार सबैभन्दा बढी दिपायलमा ४१.२, धनगढीमा ३८.२, नेपालगन्जमा ३८.७, वीरेन्द्रनगरमा ३४.५, दाङमा ३३.६ र भैरहवामा ३५.६  डिग्रीसेल्सियस तापक्रम रह्यो ।

केही दिन मध्यपश्चिम र सुदूरपश्चिममा सक्रिय भएको पि्र-मनसुन फेरि पूर्वी क्षेत्रमा सक्रिय हुनेछ । मौसमविद्ले पि्र-मनुसन सक्रिय भएकाले यो वर्ष बेलैमा मनसुन सुरु हुने आँकलन गरेका छन् । सामान्यतया नेपालमा १० जुन (जेठ अन्त्य) देखि मनसुन सुरु हुन्छ । विगतमा सबैभन्दा छिटो ३१ मे (जेठ मध्य) मा पनि मनसुन भित्रिएको रेकर्ड छ । सन् १९८२ मा सबैभन्दा ढिलो २७ जुनमा मनसुन सुरु भएको थियो ।

– See more at: http://www.ekantipur.com/np/2070/2/17/full-story/369074.html#sthash.Igoyc247.dpuf

कमेन्टहरु
Loading...