बालबालिकालाई खुवाउने सर्वोत्तम पीठो गाईगोरुलाई

पोखरा, १५ पुस/मुगु जिल्लामा बालबालिकाका लागि ल्याइएको सर्वोत्तम पीटो स्वास्थ्य सेवा विभागको लापरबाहीका कारण गाईगोरुलाई खुवाउने गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा स्वास्थ्य विभागले जिल्लाका २४ वटै गाविसका तीनदेखि आठ वर्षसम्मका बालबालिकाका लागि पठाएको चार हजार क्विन्टल सर्वोत्तम पीठो समयमै नपुर्‍याइएको र पुगेको पनि प्रयोग गर्न समय अवधि सकिएकाले गाईगोरुलाई खुवाउन थालिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ढुवानीका कारण देखाई ठेकेदारले ढिलो गरेको र जिल्ला नजस्वास्थ्य कार्यालयमा पुगेको पीठो पनि समयमा ग्रामीण भेगका स्वास्थ्य संस्थामा पुर्‍याउन नसकिएकोले अहिले सदरमुकाम गमगढी आसपासका सर्वसाधारणले गाईगोरुलाई खुवाउनका लागि डोकाडोकामा लैजान थालिएका छन् ।
सदरमुकाम गमगढीदेखि दुई घन्टा पैदल दूरीमा रहेको पिना स्वास्थ्यचौकीमा ११ क्विन्टल ६० केजी पीठो प्रयोग गर्न समय अवधि सकिएपछि मात्र पुगेको थियो । स्थानीय बासिन्दा पीठो खाएर आफ्ना बालबालिकालाई झाडापखाला लागेको भन्दै मंसिरको दोस्रो साता जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना दिन गएका थिए ।

कमेन्टहरु
Loading...