श्रम तथा जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

पोखरा, १२ वैशाख / बाग्लुङकी ३७ वर्षीया गुदु सुनारलाई गएको वर्ष लोग्नेले छाडे । कमाउन विदेश गएका उनका खसम स्वदेश त फर्के तर पोखरा झरेर अर्कैसँग घरजम बसाले । दुःख त छँदै थियो ! लोग्नेले छाडेपछि दुई छोरी र एक छोरा हुर्काउने जिम्मा पनि गुदुकै काँधमा आइपुग्यो ।
‘म यहाँ ( पोखराको रामघाटमा) बालुवा चाल्छु र कहिले दिनको २ सय त कहिले ५ सय रुपैयाँसम्म कमाउँछु’, उनले भनिन्,‘त्यो कमाईले जसोतसो बच्चाहरुलाई हुर्काउँदै छु ।’ दुःख नै भए पनि उनले छोराछोरीलाई स्कूल भने भर्ना गराएकी छिन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनिकरण कार्यक्रमले ‘श्रम तथा जोखिममा रहेका बालबालिका’को लागि संचालन गरेको कार्यक्रमले उनीहरुलाई विद्यालय भर्ना हुने वातावरण मिलाएको हो ।
२०७२ सालको भूकम्पले बारपाक उइयाँमा रहेको संगीता बिकको घर भत्कायो । घर ढलेपछि पोखरा झरेका बाबु, आमा, फूपु र भाइसँगै पोखराको अर्मलामा बस्दै आएकी उनी अहिले त्यहीँको शान्ति मावि कक्षा ६ मा पढ्दैछन् । यता, मजदूरी गरेर खाने कल्पना सुनारले कामकै क्रममा भुटानी सरणार्थी कुमार तामाङसँग घरजम बसाइन् । घरजमसँगै उनी दुई सन्तानको आमा बनिन् । बाबुको जिम्मेवारी पूरा गर्ने बेला कुमार भने सुटुक्क भागे ।
‘खै कता गयो थाहा भएन, अन्तै बिहे गरेर बसेको सुनेको छु’, उनले भनिन्,‘सन्तान हुर्काउने जिम्मा चाहिँ मेरो काँधमा आयो ।’ उनका दुई छोरा यहाँको जनप्रिय स्कूलमा पढ्छन् । सानो समिर सुनार पनि सातमा पुगिसके । छोरा हुर्कर्दै गएपछि खर्च त बढ्ने नै भयो । उनीमाथि यतिबेला अर्को समस्या थपिएको छ । जन्मदर्ता छैन । ‘जन्मदर्ता नभए पढ्न पाइँदैन भनेका छन्’, उनले दुखेसो पोखिन्,‘अब लोग्ने नै नभएपछि कहाँबाट जन्मदर्ता गर्नु ?’
सबैका आ आफ्ना कथा अनि ब्यथा । प्रधानमन्त्रीदेखि मन्त्री र अन्य जनप्रतिनिधीहरुले विद्यार्थीको संरक्षकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियान चलाइरहेको बेला करिब ८० जना विपन्न एवं श्रम तथा जोखिममा रहेका बालबालिकाहरुलाई बुधबार पोखरा उद्योग बाणिज्य संघको बालश्रम न्यूनिकरण कार्यक्रमले शैक्षिक सामाग्री र पोशाक बितरण ग¥यो । शैक्षिक सामाग्री, झोला, जुत्ता र पोशाकको अभावमा उनीहरुले विद्यालय नछाडून् भन्ने उदेश्यले स्कूल सुरु हुनासाथ यो कदम चालिएको हो । अभियानमा जिल्ला शिक्षा कार्यालय, किडासाले पनि सघाएका छन् ।
शैक्षिक सामाग्री पाएपछि बालबालिका खुसी देखिन्थे ।अबोध बालबालिकाहरु पाएको सामान मिलाउने र झोला बोकेर यता र उता गर्दै गर्दा यहाँको महेन्द्र माविमा कक्षा दुईमा पढ्ने दीपा मगरले फोटो खिचिदिन आग्रह मात्रै गरिनन् । पोज पनि दिन भ्याइन् । पोजदिएसँगै उनले थपिन्,‘हामी पढ्ने बोर्डिङमा हैन के रे !’ उनको अवोध र स्वतस्फूर्त आवाजमा सरकारी र बोर्डिङ स्कूल पढ्नेहरु बीचको विभेद पनि झल्कन्थ्यो ।
विपन्न तथा जोखिममा रहेका ती बालबालिकाहरुलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पूर्व अध्यक्ष तथा बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक रमेश कर्माचार्य, संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु,उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की र किडासाका कन्ट्री डाइरेक्टर रमेश बास्तोला र समाजसेवी सुभद्रा कोइरालाले शैक्षिक सामाग्री बितरण गर्नुभयो ।
शैक्षिक सामाग्री बितरणसँगै संक्षिप्त मन्तव्य व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफ्नो बाल्यकालको सम्झना गर्दै हरेक बालबालिकाहरुको पढ्न पाउने अधिकार रक्षाको लागि संघले निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक तथा संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यले विद्यालय भर्ना अभियानसँगै बालबालिकाहरुलाई खाजा लगायतका सुविधा दिनेबारे पनि छलफल चलिरहेको बताउनुभयो ।
संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले बालबालिकाहरुलाई पढाईका साथै अन्य अतिरिक्त क्रियाकलापमा लाग्ने वातावरण निर्माणको लागि अभिभावकहरुलाई आग्रह गर्नुभयो । बालश्रम न्यूनिकरण कार्यक्रमकी अधिकृत प्रिति पाण्डेका अनुसार जोखिममा रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना, अनौपचारिक कक्षा संचालनको क्रममा ५ हजारभन्दा बढीलाई सेवा प्रदान गरेको जानकारी दिइन् ।
कमेन्टहरु
Loading...