बाढी पिडित भन्दछन् –‘न रोपो न भकारी’

हरि बास्तोला
बेलका(उदयपुर), २५ साउन / सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण संकलित अन्न सहितको घर र रोपेको खेत डुबेपछि दैनिक रोजीरोटीलाई प्रभाव पारेको त छ नै उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ ।

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. २ धाराखोला र कञ्चलनजङगा बाढी पिडितलाई एकतर्पm बिहान वेलुका हात मुख जोर्न धौ धौ छ भने अर्कातर्पm उ त्यहीँ थियो मेरो खेत भनेर बगरमा परिणत र डुबेको क्षेत्र देखाउनु दैनिकी जस्तै बनेको छ ।

राहत उद्धारका साथै सहयोग गर्ने भन्दै पुग्ने जो कोहीलाई यिनै पिडा व्यथा भन्नु, धेर थोर जे सहयोग पाइन्छ त्यो स्वीकार्दै अन्य सहयोगीको आशामा रहँदै यहाँका स्थानीयले जीवन यापन गरिरहेका छन् ।

“के गर्नु दुःख जिलो गरेर रोपाई पनि गरि सकेका थियौ, रोपो हरियो बन्दै थियो एका एक आएको बाढीले हाम्रो खेत डुवायो नै, घरमा साँचेर राखेको भकारीको अन्नपात पनि डुवेर कुहियो” – धाराखोलाकी मिरा तामाङले भावुक बन्दै दुःखेसो सुनाउनुभयो ।

खाईनखाई दुःखका साथ बनाएको नयाँ घरको पहिलो तला डुवेको बताउँदै उहाँले १६ कट्ठा खेतमा लगाएको धान खेत तालमा परिणत भएको बताउनुभयो ।
४० मुरी धान उत्पादन हुने खेत डुवानमा परेपछि छ जना छोराछोरी सहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको उहाँले बताउनुभयो ।
उहाँ जस्तै यतिखेर यहाँका स्थानीय बाढीले पारेको क्षति सम्झँदा पनि भक्कानो छुटेर आउने बताउँछन् ।

अर्की ५६ बर्षीय एकल महिला जनममाया भट्टराईले आँफूले नेपाल रेडक्रस सोसाईटीको २५ हजार रुपैयाको आर्थिक सहयोगमा सञ्चालन गरेको बेकरी उद्योग सहित घर पुरीएपछि समस्या थपिएको बताउनुभयो ।

स्थानीय टिका कुमारी कोइराला सुवेदीका अनुसार माथिल्लो भेगबाट अचानक आएको बाढीले घर र गोठ डुबाउँदा सञ्चित अन्न, लत्ता कपडा, भाडावतन लगायतका सम्पूर्ण सामाग्री नष्ट हुनुको साथै गोठमा रहेको दुई वटा बाख्रा समेत बगाएको बताउनुभयो ।

बाँचेका बस्तु भाउ खुल्ला आकाश मुनी बाटोमा वाँध्न बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, –“बाढीकै कारण जुकाका साथै सर्पको विगविगि भएकोले कसरी रातदिन कसरी विताउने भन्ने भएको छ ।”

सो वडाको पथहरा र धारा खोला क्षेत्रको कूल एक हजार विगाहा भन्दा बढी धानखेत डुवानका साथै बाढीले ल्याएको बालुवाले पुरेर मरुभूमिमा परिणत भएको छ भने २४ घर बस्नै नहुने गरि क्षति पुगेको धाराखोला टोल विकास संस्थाका अध्यक्ष कृष्ण काप्mलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार १९ देखि २५ गतेसम्म लगातार वस्तीमा एकतर्पm सप्तकोशी र अर्कोतर्पm त्रियुगा नदीको बाढी पसेका कारण एक हजार ३०० सय घर प्रभावित हुनुको साथै करोडौं रुपैयाको क्षति पुगेको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार बस्ती विकाससँगै खोलाको निकासमा अवरोध भएपछि बाढी बस्तीतर्फ प्रवेश गर्दा ठूलो क्षति हुने गरेको बताउँदै त्यसको निकासका लागि स्थानीयवासीको सहयोग अपरिहार्य छ ।

वस्तीको माथिल्लो भागमा रहेका विभिन्न नौ वटा खहरे खोलालाई एकिकृत गरि सप्तकोशी र त्रियुगा नदीमा स्थायी निकास निर्माण गरि वस्ती र उर्वर भूमिको संरक्षणका लागि नगरपालिकाले सात अर्ब रुपैयाको गुरुयोजना तयार पारेको बताउँदै उहाँले त्यसका लागि प्रदेश र संघीय सरकार समक्ष आर्थिक सहयोगको माग गरिएको जानकारी दिनुभयो ।

बाढी पिडितका लागि नगरपालिकाको तर्पmबाट आवश्यक सहयोग गर्दै आएको बताउँदै उहाँले सो क्षेत्रका वासिन्दालाई विभिन्न रोगको प्रकोपसँग सर्पदंशबाट जोगाउन चुनौति रहेको बताउनुभयो ।

उहाँका अनुसार बाढी क्षेत्रमा हालसम्म २४ जनालाई सर्पले टोकेको नगरपालिकामा जानकारी आएको छ । बाढीका कारण दुःखमा परेका पिडितलाई केही हदसम्म भएपनि मलम लगाउने उद्देश्यका साथ पोखराबाट राहत सामाग्री लिएर पुगेको एक टोलीले एक सय ५० घरपरिवारलाई तीन लाख मूल्य बरावरको विभिन्न सामाग्री वितरण गरेको संस्थाका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरास्थित विभिन्न सं्घ संस्था एवम् व्यक्तिबाट संकलन गरिएको म्याटे«स, ब्ल्याङकेट, झुल, तयारी कपडा, पानी शुद्धिकरण गरिने औषधि लगायत सरसफाईका सामाग्री वितरण गरिएको थियो ।

बाढी पिडित क्षेत्रमा समाचारमा आए भन्दा पनि त्यहाँका स्थानीयले दुःख र पिडा पाएको टोलीमा संलग्न संस्थाका उपाध्यक्ष खेम लामिछानेले बताउनुभयो ।
भौगोलिक अवस्थिति समेतले विविधतायुक्त नेपालका ठाउँ ठाउँमा कतै बाढी त कतै पहिरोको समस्या भएको बताउने संस्थाका सचिव सचिव नर्मला कडेल एकआपसमा पिडामा मलम लगाउने भावना प्रत्येक नेपालीमा जाग्नुपर्ने धारणा राख्नुभयो ।

चुरे क्षेत्रमा बढ्दो प्रकृतिको दोहनसँगै बन जंगल नासिदै जानु र तल्लो तटीय क्षेत्रमा बस्ती विकास हुनुले बाढी पहिरोको प्रकोप बढाएको बताउने बेलका काठमाडौ विकास समाजका अध्यक्ष महेन्द्र थापा प्रत्येक वर्ष देखिने यो समस्याको दीर्घकालिन समाधान तर्फ स्थानीयवासी एवम् सरोकारवाला सबैको बेलैमा ध्यान पुग्नुपर्ने धारणा राख्नुहुन्छ ।

कमेन्टहरु
Loading...