थापा-पुत्रको शंकास्पद रूपमा जम्मा भएको डलर छानविन गर्नपर्ने

काठमाडौं, साउन १७ (नागरिक)- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाका छोरा गौरवको खातामा शंकास्पद रूपमा जम्मा भएको १ लाख डलरबारे सम्पत्ति शुद्धीकरणले तत्काल छानबिन सुरु गर्नुपर्ने कानुन व्यवसायीले बताएका छन्। 

फौज्दारी मुद्दामा अब्बल मानिने अधिवक्ता कृष्णप्रसाद सापकोटाले गौरवको खातामा आएको १ लाख डलरको वैधताबारे विभागले छानबिन गरिहाल्नुपर्ने बताए। पटकपटक सञ्चारमाध्यममा आइरहेको थापाको सम्पत्ति स्रोतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नभई विभागले छानबिन गर्नुपर्ने दाबी सापकोटाले गरेका हुन्।

‘गणेश थापा भए पो अख्तियारले छानबिन गर्ने, पदमा नभएका उनका छोराको नाममा आएको रकमबारे हेर्ने सम्पत्ति शुद्धीकरणले हो,’ सापकोटाले नागरिकसँग भने, ‘विषय उठेको यतिका दिनसम्म यो विषय अख्तियारले नै किन राखिरहेको हो? यो दोषीलाई उम्कन दिने अख्तियारको नियत हो।’

साउन पहिलो साता सार्वजनिक एएफसीको लेखा परीक्षण प्रतिवेदनअनुसार गौरवसहित एसियाका विभिन्न राष्ट्रका फुटबलकर्मीलाई संस्थाका अध्यक्ष मोहम्मद बिन हमामले हजारौं अमेरिकी डलर दिएको अमेरिकी समाचार एजेन्सी एपीले सार्वजनिक गरेपछि थापा बाबुछोरा विवादमा तानिएका हुन्। तीन वर्षअघि एक महिनाको अन्तरमा हमामले ५०-५० हजार गरी गौरवको खातामा १ लाख डलर पठाएका थिए।

गणेश थापाले आफ्ना छोराको खातामा हमामले सन् २००९ मा सापटीका रूपमा एक लाख अमेरिकी डलर दिएको स्वीकार्दै उक्त रकम पटकपटक गरी फिर्ता गरिसकेको बताउँदै आएका छन्। ‘सामान्य व्यक्तिको नाममा बाहिरबाट आएको एक हजार रुपैयाँको त वैध स्रोत खोज्ने हाम्रो विभागले थापाको विषयमा छानबिन नगर्नु विडम्बनापूर्ण हो,’ सापकोटाले भने। थापाले छोराको नाममा आएको रकम फिर्ता गरिसकेको बताए पनि कुन-कुन मितिमा कसरी फिर्ता गरेको उल्लेख गरेका छैनन्।

विश्व फुटबल महासंघ (फिफा)को आजीवन प्रतिबन्धमा सफाइ पाए पनि हमामले अध्यक्ष रहँदा नियमविपरीत ठेक्कापट्टा सम्झौता गरेको तथा संस्थाको बैंक खाताबाट आर्थिक अनियमितता गरेको आरोप लगाउँदै एएफसीले साउन २ मा प्रारम्भिक कारबाहीस्वरूप उनीमाथि ३० दिने प्रतिबन्ध लगाएको थियो। एएफसीले यसबारे थप छानबिनको जिम्मा अनुशासन समितिलाई दिएको छ। फिफाले पनि हमाममाथि ९० दिनको प्रतिबन्ध लगाएको छ।

झन्डै ५ वर्षदेखि एएफसीमा कार्यरत गौरव कम्पिटिसन डिभिजनअन्तर्गत हेड अफ युथ कम्पिटिसन पदको जिम्मेवारीमा छन्। लन्डनमा जारी ओलम्पिकमा उनी फुटबल खेलका लागि न्युक्यासल मैदानको सहायक म्यानेजर छन्।
उतै काम गरिरहेका गौरवलाई अख्तियारले ‘छानबिनमा लिएका छौं’ भनेर प्रक्रिया लम्ब्याई दोषीलाई उम्किने मौका दिन खोजेको सापकोटाले बताए।

स्रोत नखुलेको रकम स्वदेश भित्रिए सम्पत्ति शुद्धीकरणले छानबिन गरी दोषी देखिए विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्छ। थापाको रकम आफैं आर्थिक अनियमितता गरेको आरोपमा प्रतिबन्धित हमामले पठाएको प्रस्ट भए पनि के कारण र कुन मनसायले पठाए भन्ने विषयमा विभागले छानबिन गरेको छैन।

‘अहिले अख्तियारले लिइरहेको बेला हामीले यो विषयमा छानबिन गर्ने/नगर्ने छलफल गरेका छैनौं,’ विभागका प्रवक्ता विश्वप्रकाश सुवेदीले भने, ‘भोलि यो विषयमा के गर्ने भन्ने कुरा म उठाउँछु।’

अख्तियारले छानबिन गरिरहे पनि आफूहरूले गौरव थापाको नाममा त्यति धेरै रकम कहाँबाट आयो भनी सोध्न सक्ने उनले बताए। ‘अहिलेसम्म हामीले आफैं मुद्दा चलाएका छैनौं, पुलिसले ल्याएका मुद्दामात्रै चलाएका छौं तर हामी आफैंसँग छानबिन अघि बढाउनसक्ने अधिकार छ,’ सुवेदीले भने।

सापकोटाले अख्तियारले छानबिन गर्योी भन्दैमा कुरेर बस्दा पक्षले उन्मुक्तिको बाटो खोज्नसक्ने कारण विभागले छानबिन गर्नुपर्ने र दोषी देखिए मुद्दा दर्ता गरिहाल्नुपर्ने बताए।

अख्तियारले भने आफूहरूले गौरव थापा सार्वजनिक पदमा रहे/नरहेकोबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् र एन्फासँग सोध्ने तयारी गरेको बताएको छ। ‘सार्वजनिक पदमै भए उनीमाथि कारबाही प्रक्रिया अख्तियारले बढाउने र यदि नभए सम्पत्ति शुद्धीकरणलाई पठाउन सकिने भनी हामीले पत्रको तयारी गरिरहेका छौं,’ आयोगका सहसचिव बद्री गौतमले भने, ‘हामीले राष्ट्रिय खेलकुद परिषद् र एन्फासँग यसबारे सोध्ने तयारी गरेका हौं।’

साभार ः नागरीक

कमेन्टहरु
Loading...