वैद्य र विप्लवद्वारा प्रचण्डसँग एकता गर्ने तयारी

१२ जेठ, काठमाडौं । एमाले र कांग्रेसका नेताहरुले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई चुनावमा सहभागी गराएर एमाओवादीलाई कमजोर बनाउने सोचिरहेका बेला कांग्रेस र एमालेका नेतालाई चक्मा खुवाउँदै वैद्य र प्रचण्डवीच पार्टी एकताको संकेत देखिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीभित्र एकीकृत माओवादीसँग पार्टी एकता गर्नेबारे छलफल शुरु भएको छ । पार्टीमा सबैभन्दा उग्र क्रान्तिकारी भनिएका नेत्रविक्रम चन्द (विप्लव) ले समेत युद्धमा नजाने र यही बाटो हिँड्ने हो भने अलग्गै पार्टी बनाइरहनुको अर्थ नहुने निश्कर्ष निकाल्न थालेको बुझिएको छ । तर, विप्लव आफैंले प्रचण्ड र बाबुरामलाई दलाल भनिसकेको हुनाले सहजै एकताको कुरा गर्न उनले अप्ठ्यारो महसुस गरेको स्रोत बताउँछ ।

prachanda-kiran-biplop

नवलपरासी र बाग्लुङका माओवादी कार्यकर्तालाई एमाओवादीमा प्रवेश गराउँदै शनिबार प्रचण्डले मोहन वैद्य पनि पार्टीमा फर्कने घोषणा गर्नुभएको छ । तर, वैद्य एक्लै फर्कने नभई दुई पार्टीवीच एकता गर्ने तयारी छ । दुईसाता अघि अनलाइनखबरसँगको अन्तरवार्ताका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले चुनावअघि नै पार्टी एकता गरेर मिलेर चुनावमा भाग लिन मोहन वैद्यपक्षलाई अपील गर्नुभएको थियो ।

मोहन वैद्य पक्षलाई पार्टीमा फिर्ता ल्याउन एमाओवादीभित्र कुनै पक्षको पनि असहमति देखिँदैन । तर, भर्खरै पार्टी फुटाएर कार्यकर्तालाई विभाजित गराएका वैद्य पक्षका कार्यकर्ताहरु भने प्रचण्डसँग पार्टी एकताको कुरो सुन्नसमेत चाहँदैनन् । यसले गर्दा वैद्यपक्षका नेताहरुले पार्टी एकताको मानसिकता बनाए पनि कार्यकर्ताहरुलाई भन्ने आँट गरेका छैनन् । यद्यपि आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एकतावद्ध भएर लड्ने दुबै पक्षका नेताहरुले प्रयास गरेका छन्, जसले भावी पार्टी एकताको आधार बनाउने उनीहरुको बुझाइ छ ।

‘विप्लवजी पनि युद्धमा नजाने भए दुईवटा पार्टी किन बनाउने भन्ने निश्कर्षमा पुग्नुभएको छ ।’ स्रोतले भन्यो, पार्टी एकता गर्ने विषयमा दुईपक्षका केही नेताहरुवीच गोप्य भेटघाटसमेत हुन थालिसकेको छ ।

कांग्रेस, एमालेलाई झुक्याउने रणनीति

तत्कालै दुई माओवादीवीच एकताको चर्चा गर्दा कांग्रेस र एमाले बढी आत्तिने र चुनावलाई पछि सार्न प्रयत्न गर्ने भएकाले चुनावको मिति घोषणा भएर निर्वाचन कार्यक्रम आइसकेपछिमात्रै चक्मा दिने गरी एकता गर्ने तयारी शीर्षनेताहरुले गरेको बुझिएको छ । त्यो अवस्थामा मोहन वैद्य लगायतका पार्टीमा फिर्ता हुने नेताहरुलाई पहिलेकै जिम्मेवारीमा राखिने बताइएको छ ।

एकता प्रक्रियामा नआएर अलग्गै बस्नेहरु एमाले-मालेवीच एकता हुँदा सीपी मैनालीजस्तो बन्ने विश्लेषण माओवादी नेताहरुले गरेका छन् । एकता प्रक्रियामा सीपी गजुरेल, हरिभक्त कँडेल र रामहादुर थापा बादल आएनन् भने पनि वैद्य, विप्लव, देव गुरुङ र पम्फा भुसालसहित पार्टीको मुख्य हिस्सा र्फकने एमाओवादी नेताहरुको अनुमान छ । यो स्थितिमा सानो समूह अलग रहेर पार्टीलाई खासै घाटा नहुने विश्लेषण गरिएको बुझिएको छ ।

सिंगै नआए चुँडेरै सक्ने

वैद्य नेतृत्वको नेकपा माओवादी पार्टी एकतामा तयार नभए एमाओवादी अध्यक्ष प्रचण्डले विस्तारै किस्ता-किस्तामा नेताहरुलाई पार्टीमा भित्र्याउने रणनीति अख्तियार गरेको बुझिएको छ । कुमार पौडेल कर्णध्वज केसी र रेखा शर्माबाट शुरु भएको यो प्रक्रिया अहिले पूर्वसभासदसम्म पुगेको छ । शनिबार कपिलवस्तुबाट पूर्वसभासदसहित वैद्यपक्षका केही नेता कार्यकर्ता एमाओवादीमा फर्किएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74882/#sthash.1AFCxkce.dpuf

कमेन्टहरु
Loading...