विमानस्थलको निर्णयप्रति होटल संघद्वारा स्वागत

पोखरा, ५ फागुन/पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ठेकेदार कम्पनी छनौट गरी काम अगाडि बढाउन मन्त्री परिषद्को शुक्रवारको बैठकले गरेको निर्णयलाई पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । झण्डै चार दशक देखि पोखरेलीले देख्दै आएको अन्तर्राष्ट्रिय विमानस्थलको सपना मन्त्री परिषद्को निर्णयसँगै साकार हुने मार्गमा अग्रसर भएको संस्थाको ठहर रहेको संघका अध्यक्ष हरिप्रसाद शर्माले बताए ।

पोखरा नेपालकै ठूलो मध्ये एउटा शहर रहेको र यो पर्यटकीय शहर समेत भएका कारण पोखरामा नयाँ विमानस्थल निर्माण भएमा यस क्षेत्रको मात्र नभई समग्र पश्चिम नेपालकै विकासमा ठूलो योगदान पुग्ने संघका अध्यक्ष शर्माले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको न्यूनतम लागतमा विमानस्थल निर्माणका लागि चिनिया कम्पनी सीएएमसीलाई दिने निर्णय मन्त्री परिषद्ले गरेको भन्ने खवरले सम्पूर्ण पोखरेलीलाई हर्षित बनाएको संघले बताएको छ ।

नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको र त्यसको विकल्पको रुपमा पोखरामा नयाँ विमानस्थल निर्माण गर्ने सोच अनुरुप सरकारले २०३२ सालमा पोखरा उपमहानगरपालिका वडा नम्वर १४, १५ र १८ को छिनेडाँडामा तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण गरेर राखेको थियो । विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई दवाव दिंदै यसअघि पोखरेलीले पोखरा विमानस्थल ठप्प पार्ने देखि सिंहदरवार घेराउ र रिले अनसन तथा नारा–जुलुस जस्ता कार्यक्रम समेत सम्पन्न गरिसकेका थिए ।

चिनिया कम्पनीले त्यहींकै एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले प्रदान गर्ने सहुलियत दरको ऋण सहयोगमा इपीसी (इञ्जिनियरिङ, प्रोक्युरमेण्ट एण्ड कन्ष्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय विमानसथल निर्माण गर्न लागेको बताइएको छ ।

ठेकेदार कम्पनी सीएएमसीले सबैभन्दा कम लागत झण्डै २५ अर्व रुपैयाँमा विमानस्थल बनाउन प्रस्तावित गरेको भए पनि प्राधिकरणले साडे १५ अर्व रुपैयाँ हाराहारीमा विमानस्थल बनाउने लागत अनुमान गरेको थियो । तर पछि चिनिया कम्पनीले प्राधिकरणले भने अनुसारकै लागतमा विमानस्थल बनाउन चिठी पठाएको थियो । निर्माण हुने विमानस्थल डीफोर वा इफोर कुन मोडलको हुने भन्ने प्रष्ट पारिएको छैन ।

कमेन्टहरु
Loading...