‘२३ बैशाख’को माग बढ्दो, पोखराको पाचँ ठाउँमा प्रर्दशन हुने

रेम विक
पोखरा, ७ जेठ/एक वर्ष अगाडी सेतीमा आएको बेमौसमी बाढीमा आधारित रहेर बनेको वृत्तचित्र ‘२३ बैशाख’ हेर्न चाहनेहरुको संख्या बाक्लिँदै गएको छ । पत्रकार सागरराज तिमिल्सिनाको निर्माण तथा निर्देशनमा बनेको वृत्तचित्र हेर्नका लागी अहिले पोखराका विभिन्न संघसंस्था र विद्यालयहरुले प्रदर्शनको सेड्युलिङ गरिरहेका छन् । वृत्तचित्र २० मिनेट लामो छ ।IMG_2998

‘धेरैजस्तो शैक्षिक संस्थाहरुबाट वृत्तचित्र हेर्नुप¥यो भन्ने कुरा आएको छ ।’ वृत्तचित्रका निर्माता तथा निर्देशक सागरराज तिमिल्सिनाले भने–‘विभिन्न चरण गरेर हामीले वृत्तचित्र प्रदर्शन गर्दै जाने योजना बनाएका छौँ ।’ वृत्तचित्र प्रदर्शनको बारेमा पोखरामा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी र संचारकर्मीहरुबिच प्रदर्शन गरिएको थियो । वृत्तचित्रलाई उपस्थित सबैले राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

‘प्राकृतिक विपत्ती सम्बन्धि यस्तो खाले वृत्तचित्र हेरेपछि सशस्त्रका प्राकृतिक विपत्ति उद्धार टोलीलाई पनि धेरै ज्ञान भएको मैले पाएको छु ।’ वृत्तचित्र प्रदर्शनपश्चात छोटो प्रतिक्रिया दिँदै कालिका गणका गणपति शम्भु उप्रेतीले भने–‘वृत्तचित्रले प्राकृतिक विपत्ती कुनै पनि बेला जहाँ पनि पर्न सक्ने भएकोले सचेत हुनुपर्ने सन्देश दिन खोजेको छ ।’ बेमौसमी सेतीबाढी आउने बेलामा सशस्त्र प्रहरीले पनि विपद्मा परेकाहरुको उद्धारमा ठुलो योगदान दिएको थियो ।

बेमौसमी सेती बाढी पिडितका लागी सहयोग रकम संकलन गर्ने अभियान अन्तरगत चरणबद्ध तरिकाले वृत्तचित्रलाई प्रदर्शन गर्दै जान लागेको निर्देशक तिमिल्सिनाले जानकारी दिए । ‘बाढीबाट प्रभावित धेरै परिवारले अझै पनि राहत पाउन सकिरहेका छैनन् ।’ उनले भने–‘उनीहरुलाई राहत दिलाउने र विभिन्न स्थानबाट सहयोग संकलन गर्दै उनीहरुलाई उपलब्ध गराउने मेरो चाहना हो ।’ राहत मिलाउनका लागी दबाब दिनकै लागी भएपनि आगामी दिनमा सरोकारवालाहरुलाई वृत्तचित्र देखाउने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा एनआरएन युकेका सल्लाहकार पशुपति भण्डारीले वृत्तचित्रले सेतीबाढीको वास्तविकतालाई धेरै हदसम्म उजिल्याएको बताए । ‘सेतीबाढी पिडितले सरोकारवालाहरुबाट अझै पनि राहत नपाएको सुन्दा मलाई पनि नराम्रो लाग्यो ।’ उनले भने–‘उनीहरुलाई चासो नभएपनि एउटा मानवताको आधारमा सबैले पिडितलाई सहयोग गर्नुपर्छ ।’ विदेशी भुमिमा रहेका नेपालीहरुबाट धेरथोर सहयोग रकम उठाउनका लागी आफुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले वृत्तचित्रलाई अझै बढि सन्देशमुलक बनाउनुपर्नेमा जोड दिए ।

‘२३ बैशाख’ वृत्तचित्रलाई जेठ ९ गते उद्योग वाणिज्य संघको हलमा समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको निर्देशक तिमिल्सिनाले जानकारी दिए । विहान ८ बजे वृत्तचित्रको प्रदर्शन हुनेछ । त्यस्तै १३ गते कालिका गण, १५ गते पुर्णिमा हलमा स्मृति पार्क निर्माणको सहयोगार्थ, २६ गते मदरल्याण्ड उच्च मावि र नेपाली सेनाको पश्चिम पृतनामा प्रदर्शन गरिने भएको छ ।

कमेन्टहरु
Loading...