वामगठबन्धनका कार्यकर्ताले मतदानस्थलमा धम्काएर धाँधली गरेको काँग्रेसको आरोप ,पुनःमतदानको माग

मंगसिर १६  /नेपाली काँग्रेस बागलुङले जिल्लाका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै उजुरी दर्ता गरेको छ।चुनाव सकिएको चार दिनपछि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो। नेपाली काँग्रेसले वामगठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वामगठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ। नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं १ को प्रदेश (१) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएका हुन्।

उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथ कब्जा’ भएको उजुरीमा दाबी गरेका छन्। वामगठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकोले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ। काँग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटी रुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए।

उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको उनको भनाइ छ। मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कमेन्टहरु
Loading...