सञ्जीव पौडेलको नेतृत्वमा नेपाली लेखक संघ

पोखरा, १ चैत / नेपाली लेखक संघ कास्कीको चौथो अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । तीन वर्षे कार्यकालका लागि संघको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल(अथक), सहसचिवमा सञ्जय न्यौपाने, कोषाध्यक्षमा मेघनाथ आचार्य निर्वाचित भए । समितिका सदस्यहरूमा भरत पोखरेल(अञ्जान), शिवराम पौडेल(जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह छन् ।

अधिवेशनका लागि भीमनाथ बरालको संयोजकत्वमा वासुदेव पौडेल र इशा शाह सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । अधिवेशनको उद्घाटन समारोहमा बक्ताहरूले साहित्य बर्गीय हुन नसक्नेमा जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् नेपाली लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा.बिष्णुबिभु घिमिरेले सिद्धान्तको पर्खालभित्र बसेर साहित्य लेखन हुन नसक्ने बताए ।
साहित्य लेखनका मूल्य मान्यतालाई आत्मसात गर्दै लेखन क्षेत्रमा नयाँ पुस्तालाई अभिप्रेरित गर्दै अघि बढाउन नेपाली लेखक संघको आवश्यकता रहेको बताए ।

नेपाली लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले बर्गीयतामा नभै सास्वत मूल्यका लागि साहित्य लेखन हुनुपर्नेमा जोड दिए । नेपाली लेखक संघले साहित्यको अपहरण गर्न दिन नहुने र अपहरित सात्यिलाई फर्काउनुपर्ने आवश्यकता उनले औंल्याए ।

कवि तीर्थ श्रेष्ठले स्वतन्त्रताका अभावमा लेखन हुन नसक्ने बताउँदै कुनै लेखक पार्टी विशेषको भरौटे बन्न नसक्ने धारणा राखे । लेखक फस्टाउनका लागि लेखकीय स्वाभिमान हुनुपर्ने उनले बताए ।
संविधानसभा सदस्य शारदा पौडेलले २००८ सालमा विपी कोइराला लगायतका व्यक्तित्वबाट सुरु भएको नेपाली लेखक संघको विशिष्ट गरिमा र महत्व रहेको बताउँदै समग्र नेपाली साहित्यको उत्थानमा यसको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्माले संघको कास्की शाखाले गण्डकी क्षेत्रका लेखन प्रतिभालाई अभिप्रेरित गर्ने उद्देश्यका साथ यसै वर्षदेखि लेखक वर्ष कृति पुरस्कार प्रदान गर्न लागेको जानकारी दिए । उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष सञ्चालनमा आइसकेको उनले बताए ।

नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष भुपति ढकाल(कमल) ले काँग्रेस कमजोर बन्दा प्रजातान्त्रिक मूल्य मान्यता कमजोर बन्दै गएको बताए । काँग्रेसलाई सुदृढ गर्नका लागि आँफूहरूले नेपाली काँग्रेस भित्र निष्ठावान कार्यकर्ताको खोजी अभियान सञ्चालन गरेको बताए ।

उक्त अवसरमा लेखक वर्ष कृति पुरस्कार(गण्डकी)बाट दीपाञ्जली उपन्यासका लेखक सरोज अर्याललाई २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट सम्मान गरियो । त्यस्तै कवि तेजनाथ घिमिरेलाई सम्ममानपत्र सहित स्रष्टा सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष रीतादेवी कंडेल, नवनिर्वाचित अध्यक्ष सञ्जीव पौडेल, पुरस्कृत व्यक्तित्व बलबहादुर थापा, सम्मानित व्यक्तित्व सरोज अर्याल, कवि तेजनाथ घिमिरे, निर्वाचन समितिका संयोजक भीमनाथ बराल, सदस्य वासुदेव पौडेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...