लेखनमा रुची भएकालाई बुद्धि सागरका १० टिप्स

बुद्धि सागर

लेखनामा रुची भएकाहरुलाई लेखक बुद्धि सागरले दिएका १० टिप्सहरु उनले फेसबुकमा लेखेका छन् ।

लेखनमारुची भएका मित्रहरु लेखनका लागि सुझाव मागिरहनुहुन्छ । त्यसैले मैले सामान्य १० वटा सुझाव बनाएको छु, आशा छ, काम लाग्दो नै होला ।
यदि कामलाग्दो लाग्यो भने धन्यबाद भन्न नर्बिसनु होला ।

१- सबैभन्दा पहिला ’लेख्नू किन परेको ?’ भनेर सोच्नुस् ! कुनै लेखक र कृतिको चर्चाले यस्तो मनोभाव आएको हो भने यस्ले दुःख बाहेक अर्को केही दिँदैन । यदि साँच्चिकै मनैदेखि लेख्न मन लागेको हो भने चिन्ताको कुनै बिषय छैन । पाउलो कोएलो भन्छन्— हरेक मानिससित आफ्नो छिमेकीलाई भएपनि सुनाउने एउटा सानदार कथा हुन्छ । आफुसित पनि त्यस्तो कुनै कथा छ भने सुरुवात गरिहाल्नुस् ।

२ – प्रा. डा. डिपी भण्डारी भन्नुहुन्छ— ‘लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।’ शैली श्रमले बन्दैन । आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्न थाल्नुस् । आफूभित्रको सर्जकलाई पागलपन दिनुस् । लेख्दै जाँदा आफूले पढेका लेखक र कृतिभन्दा एकदमै फरक हुन थाल्यो भने नआत्तिनुस्, खुशी हुनुस्, तपाई आफ्नो शैली निर्माण गर्दे हुनुहुन्छ ।

३- पुस्तकको पहिलो अध्याय नै महान लेख्छु भनेर सोच्न थाल्नु भयो भने सोच्दासोच्दे समय घर्किन सक्छ । मार्खेज भन्छन्— ‘पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ ।’ तर, मलाई लाग्छ— प्रायः पुस्तकले पहिलो हरफ बिचतिरबाट पाउँछ । लेख्दै गएपछि, जव पुस्तकले एउटा आकार पाउँछ, त्यति नै बेला, पहिलो अध्याय पनि पाउँछ । धेरै लेखकहरु पहिलो खण्ड पुस्तकको बिचतिरबाट निकालेर अगाडी राख्छन् । त्यसैले शक्तिशाली सुरुवातको चिन्ता सुरुमै नगर्नुहोला ।

४- लेखिरहेका बेला आफ्नो लेखनीलाई कहिल्यै पनि अरु लेखकका प्रकाशित भईसकेका कृतिसित नदाज्नुस् । ’cause, पहिलो ड्राफ्ट कमजोर नै हुन्छ । हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्छन् । ड्राफ्टलाई अनेकपल्ट पुर्नलेखन गरेर प्रकाशित गरिन्छ । त्यसैले अनेकपल्ट पुर्नलेखन गरेर छापिएका कृतिका अगाडी आफ्नो पहिलो लेखनी कमजोर नै लाग्छ ।

५- आफूले लेखिरहेका कुरा धेरैलाई सुनाउँदै नहिँड्नुस् । धेरैपल्ट सुनाउँदा सुनाउँदा त्यो बिषय नै आँफैलाई पनि दिक्क लाग्दो लाग्न थाल्छ । र, कहिलेकाही सुन्ने मान्छेको मुहारमा तपाईले खाजेको उत्साह पनि नभेटिन सक्छ, जस्ले तपाईलाई निरास बनाउन सक्छ । लेखिरहेको कुरा सुनाउँदै हिँड्नु भनेको प्रेसरकुकरबाट बाफ लिक हुनुजस्तै हो, जसले सिटी बज्दैन ।

६- लेख्न सुरु गरेपछि, कहिले सकिएला भनेर नआत्तिनुस् । र, छोटो समयमै सक्छु भनेर कस्सिनु भयो भने केही हप्ता जाँगर त आउला, तर थकान र दिक्क लाग्ने हुनुथाल्छ । जव रफ्तार रोकिन्छ, फेरि सुरुवात गर्न असाध्यै गाह्रो हुन्छ, गाडीको इन्जिन झ्याप्प बन्द भएर मेसिन जाम भएजस्तो । त्यसैले हरेक दिन लेख्नुस्, तर थोरै थोरै लेख्नुस् । प्रायः लेखकहरु दिनमा २५० शब्ददेखि १ हजार शब्द लेख्छन् । कापीमा हो भने एकदुई अनुच्छेददेखि तिनपन्नासम्म । हारुकी मुराकामी हजार शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तिन पन्ना । सगरमाथा चढ्नेहरु दर्गुदैनन् तर एक—एक कदम गरेर चुचुरोमा पुग्छन् ।

७- लेखनमा सबैभन्दा ठूलो कुरा अनुसासन हो । अनुसासन बिनाको प्रतिभा फक्रिन सक्दैनन । हरेकदिन लेख्छु भनेर बाचा गर्नुस् र त्यो बाचालाई पुरा गर्नुस् । चौविसघन्टामा आफूलाई पायक पर्ने कुनै एकघन्टा छुट्याउनुस् । र, त्यो समयमा मूड चलोस्, या नचलोस्, लेखिरहनुस् । केही पनि फुरेन भने आफ्नै नाम नै भएपनि लेखिरहनुस् । बिस्तारै तपाईले छुट्टाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ ।

८- किताव एकतिहाईसम्म लेख्दा आँफैलाई पनि बारम्बार लागिरहन्छ, म के सहि कथा र शैलीमा हिँडिरहेको छु ? मलाई लाग्छ — हरेक पुस्तकले आधाआधी भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ । र, प्रायः लेखकहरु बिचतिरबाट निस्केको भाषा र शैलीलाई फेरि अगाडीबाट मिलाउँदै ल्याउछन् ।

९- दिनदिनै लेख्दा आउने समस्या के हो भने अघिल्लो दिनको जस्तो भावना र उर्जा अर्को दिन नहुनसक्छ । आज के बाट सुरु गरौ भनेर लामो समय टोलाउनु पर्ने हुन्छ । त्यसैले अघिल्लो दिन मनमा आएजतिका कुरा सबै नलेख्नुस् । अलिकति भोलीपल्टलाई बाँकी राख्नुस् । भोलीपल्ट मनको बाँकी कुरा लेख्नु भयो भने अरु आँफै थपिदै जाने सम्भावना हुन्छ । संगीतको शौखिन हुनुहुन्छ भने एउटा संगीतको फोल्डर बनाउनुस् । हरेकदिन त्यही फोल्डर सुन्दै लेख्ने गर्नुस् । मलाई लाग्छ— तपाईले सधैँ सुनिरहेको संगीत पुस्तकको ब्याकग्राउन्ड म्यूजिकजस्तो हुँदैजान्छ । जव संगीत सुन्नुुहुन्छ— संगीतले नै कथाको संसारमा पुर्याइदिने सम्भावना पनि हुन्छ ।

१०- स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ नै, लेखनमा पनि झन् महत्व नै हुन्छ । खानपिन र हिँडडुलमा ख्याल राख्नुस् । खानाको गड्बडी र कम शारीरिक अभ्यासले ग्यास्टिक जस्ता रोग निम्त्याउछन् । पोलिरहेको छाति वा पेटले अक्षर गोडमेल गर्न गाह्रै हुन्छ । सकेसम्म हिँडाईलाई महत्व दिनुस् । हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाही अनेकपल्ट घोरिदा पनि नआएका कुरा हिँडाईका क्रममा आउँछन् । पैतलाको रफ्तारले दिमागका बन्द चेपहरु खुल्छन् भन्ने मलाई लाग्छ ।

ह्याप्पी राईटिङ

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

९० दिन पुराना लेखमा कमेन्टहरु बन्द गरिएको छ ।