कालो टालो छाडेर राष्ट्रिय झण्डा बोक्न प्रधानमन्त्रीको सुझाब

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास
सागर राज तिमिल्सिना
पोखरा, १ बैशाख/पोखरा अन्तराष्ट्रिय विमानस्थलको बुधबार शिलन्यास भएको छ । पोखरामा भएको एक भव्य कार्यक्रमका बिच प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका छन् । चिनियाँ सहयोगमा निर्माण हुन लागेको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल चार वर्षमा पुरा गर्ने लक्ष्य रहको छ ।

कालो टालो छाडेर राष्ट्रिय झण्डा बोक्न प्रधानमन्त्रीको सुझाब
कालो टालो छाडेर राष्ट्रिय झण्डा बोक्न प्रधानमन्त्रीको सुझाब

शिलन्यास कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र कांग्रेस महामन्त्री शशांक कोइरालाले शिलान्यासका क्रममा इँटा थपे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दलहरुलाई कालो टालो उठान छाडेर राष्ट्रिय झण्डा बोकेर आगाडी बढ्न आग्रह गरे । नयाँ वर्षमा पोखरा विमानस्थलको शिलन्यासबाट देश भर विकासको लहर ल्याउने बताए । उनले कालो टालो बोकेर सडक आन्दोलनमा उत्रनु भन्दा विकास अभियानमा राष्ट्रिय झण्डा बोकेर सहभागी हुन आह्वान गरे । ओलीले चीनको केरुङबाट काठमाडौं, काठमाडौंबाट पोखरा, पोखराबाट लुम्बिनीमा रेल मार्ग बन्ने काम छिटै थाल्ने बताए । उनले केही वर्षभित्र यसको सर्भे गर्ने बताए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणसँग सँगै चीन सरकारको सहयोगमा रेलवे लाइन बिछ्याउने काम पनि सुरु हुने विश्वास व्यक्त गरे । चीन सरकारले रेलवे लाइनको निःशुल्क सर्भे गर्ने सूचना आफूलाई प्राप्त भएको उनको भनाई थियो । पुर्व प्रधानमन्त्री झलनाथ खनालले विमानस्थल बने पछि पोखरामा विकासको गति अगाडी बढ्ने बताए ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विकास निर्माणको काममा सबैको सहकार्य अत्यावश्यक रहेको बताए । उनले भने, ‘विकास निर्माणबाट ५ बर्षमा मुलुकको कायापलट संभव छ, तर त्यसका लागि शान्ति र स्थिरता हुनुपर्छ । उनले नेपाली कांग्रेस विकास बिरोधी नगर्ने बताउदै प्रतिपक्षमा बसेर पनि सहयोग गर्ने बताए ।

सभालाई उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा, पर्यटनमन्त्री आनन्दराज पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संसदको विकास समिति सभापति एबं विमानस्थल निर्माण उच्चस्तरिय सहयोग समितिका संयोजक रविन्द्र अधिकारी लगायतले विमानस्लतको निमार्ण पछि पोखरामा १५ प्रतिशत पर्यटक बढ्ने र पोखराको आकार ६ गुणाले बृद्धि हुने बताए ।

कार्यक्रमको लागि पोखरेलीहरुले विभिन्न जातजातिका भेषभुषा र वाजागाजा तथा झाकी सहितको ¥याली निकाल्दैछन् । पोखराको अमरसिंहचोक मैदानमा जम्मा भएर ¥याली शिलान्यास स्थालमा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चैत्र ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएपछि पोखरामा अन्तरराष्ट्रिय विमानस्थल शिलान्यास भएको हो ।

पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।

पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी थप गरिएको छ । विमानस्थल ४ वर्ष भित्र सक्ने लक्ष्य रहेको छ ।

कमेन्टहरु
Loading...