रात्रीकालीन व्यवसायलाई व्यवस्थित गर्नेबारे सरोकारवाला सहमत

पोखरा, ७ चैत । पोखराको रात्रीकालीन व्यवसायलाई व्यवस्थित गर्न तथा सुरक्षा प्रदान गर्ने विषयमा सरोकारवालाहरु एकमत भएका छन् । पोखरा उद्योग वाणिज्य संघको पहलमा आइतबार कास्कीका प्रहरी प्रमुख, रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेवान) पोखरा,सिटी रेवान, दोहोरी रेष्टुरेण्ट संचालकहरुबीच भएको छलफलले सो निष्कर्ष निकालेको हो ।

सो छलफल कार्यक्रमको अध्यक्षता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय राती १० बजे बन्द गराउने निर्णय गरेपछि व्यवसाय संचालकहरुले असन्तुष्टी जनाएका थिए । सोही समस्या समाधानको लागि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पर्यटकीय नगरी पोखरामा पर्यटकहरुको सुविधालाई ध्यान दिँदै रातको समयमा गरिने व्यवसायको समयावधी बढाउनु पर्ने बताएका थिए ।

त्यस्ता व्यवसाय संचालन गर्नेहरुले कानूनको पालना गर्नु पर्ने तथा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन सघाउनु पर्नेमा आफू सहमत भएको उनको भनाइ थियो । छलफल कार्यक्रमका बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले पर्यटकीय नगरीका रेष्टुरेण्ट र होटलहरु २४ सै घण्टा चल्नुपर्नेमा आफू सहमत रहेको बताए । उनले त्यस्ता व्यवसाय संचालन गर्दा शान्ति सुरक्षामा खलल पु¥याउन भने नपाइने र कानूनको पालना हुनुपर्ने अडान राखे ।

पोखरामा भर्खरै सम्पन्न मिनी सार्क सम्मेलनलाई हेरेर दोहोरी र डान्स रेष्टुरेण्टहरुलाई १० बजे समयसीमा तोकिएको बताउँदै उनले समय हेरफेर गर्न आफू तयार रहेको बताए । डान्स, दोहोरी र लाइभ म्युजिकसहितका व्यवसाय संचालकहरुले अनिवार्य रुपमा साउण्ड प्रुफ हल बनाउनु पर्ने उनको भनाइ थियो ।  कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले राज्यको आग्रह मान्न व्यवसायीहरु तयार रहेको बताउँदै पर्यटकीय नगरी भएकाले यहाँका व्यवसायहरु रातभर संचालन गर्नुपर्ने धारणा राखे । सिटी रेवानका अध्यक्ष केपी शर्माले रात्रिकालीन व्यवसाय गर्दा साउण्ड प्रुफ हल बनाउनको लागि केही समय दिनुपर्ने धारणा राखे ।

छलफलमा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे, कोषाध्यक्ष दीलिपराज श्रेष्ठ लगायतको सहभागिता थियो । यता भेलापछि रात्रीकालीन व्यवसायको अनुगमन गर्न तथा निर्देशिका जारी गर्न ९ सदस्यीय अनुगमन समिति गठन गर्ने सहमति बनेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक वीरेन्द्र गोदारको रोहवरमा भएको छलफलले सो समितिमा पोखरा उद्योग वाणिज्य संघ, सामुदायिक सेवा केन्द्र, क्षेत्रीय होटल संघ, रेवान, सिटी रेवान, दोहोरी रेष्टुरेण्टका प्रतिनिधी,डान्स रेष्टुरेण्ट संचालक, लाइभ म्यूजिक कार्यक्रम संचालक,वडा प्रहरी कार्यालय वैदामलगायतका संघ संस्थाका प्रतिनिधी सदस्य रहने निर्णय भएको छ ।

कमेन्टहरु
Loading...