ग्राहक बनेर आएकी महिलाले चोरी, स्थानीयले प्रहरीलाई बुझाए

विजय नेपाल/ पोखरा, ११ जेठ /पोखराको पर्यटन बसपार्क नजिकै मंगलबार दिउँसो एक हुल मानिस जम्मा भए । भीडको बीचमा एक महिला हतास मनस्थितिमा देखिइन् । तत्काल प्रहरी आयो र उनलाई भ्यानमा हालेर प्रहरी कार्यालय लग्यो ।

घटना विवरण बुझ्दा थाहा लाग्यो, ती महिला एक फेन्सी पसलबाट नगद चोरी गरी भागेकी रहिछिन् । राष्ट्रबैंकचोक भन्दा केही तल रहेको एक फेन्सी पसलमा कपडा किन्न भनी छिरेकी उनी नगद चोरेर भागेको संचालक यज्ञप्रसाद पंगेनीले
बताए । उक्त घटनामा संलग्न ती महिला कास्कीको पुरुन्चौर गाविस वडा नं. २ बताउने वर्ष ३० की पुनम परियार रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।

दिउँसो करिब साढे ३ बजेको हुँदो हो, ती महिला कपडा किन्न भनी यज्ञप्रसादको फेन्सीमा छिरिन् । पसल संचालकले महिलाको अनुरोध बमोजिम कपडा देखाउँदै गए । खासगरी महिलाले लगाउने कपडा ती महिलाले झण्डै आधा दर्जन वटा ओल्टाई–पल्टाई हेरिन् । लामो खालको जामा (लुङ्गी) मा महिलाको मन गयो । ‘लगाएर हेरौन’ भनी क्याबिन छिरिन् । साँघुरो ठाउँ
भएको भन्दै ती महिलाले ‘दाइ भित्र ठाउँ छैन ?’ भनिन् ।

यज्ञप्रसादले त्यसभन्दा भित्र पसलसँग जोडिएको बेडरुम देखाए । महिला कपडा लिएरभित्र छिरिन् र अँध्यारो लाग्ने उक्त कोठामा करिब ३ मिनेट बिताइन् । बाहिरिएपछि ती महिलाले ‘दाइ ! मेरो बच्चा स्कुलबाट आउने बेला भयो, म बच्चालाई लिएर १० मिनेटमै आउँछु, कपडा प्याक गर्नु है’ भन्दै मोलतोल नगरीकन पसलबाट हिडिन् । क्षणभरमै छाता छोडिएछ भन्दै आइन् र छाता लिएर निस्किन् ।

पसल संचालकलाई लाग्यो, १० मिनेटमै आउँछु भनेको महिला फेरि छाता छोडिएको भन्दै आउनु र असामान्य क्रियाकलाप देखाउनुमा केही रहस्य छ । उनी बेडरुममा गएर घर्रामा चाबी लगाएर सुरक्षित राखिएको पैसा चाबी खोलेर हेरे तर देखेनन् । धन्य, नजिकै रहेको सुनको बाला भने सुरक्षित रहेछ । तुरुन्तै छिमेकीलाई पसल हेर्न भनी ती महिला गएको बाटो पछ्याए । पसलबाट करिब २ सय मिटर पर पर्यटन बसपार्कमा पुग्दा ती महिला फटाफट लम्केको भेटे ।

उनले सोधे, बहिनी एकछिन पर्खिनोस् त ? महिला फरक्क फर्केर यज्ञप्रसादलाई नगद रकम फिर्ता गरिन् । गन्दा ३ हजार ७ सय रुपैयाँ रहेछ । तुरुन्तै मानिस जम्मा भए र प्रहरीलाई खबर गरे । गत बैशाख पहिलो सातामात्र यज्ञप्रसादले पसल संचालन गरेका हुन् । उनका अनुसार ती महिला केही दिनअघि पनि आफ्नो पसलमा कपडा किन्न भन्दै आएकी थिइन् । तर किनिनन् । मंगलबार पुनः पसलमा छिर्दा चोरी नै गरेर भागिन् । तर असफल प्रयासमा अन्ततः प्रहरी खोर पुगिन् ।

कमेन्टहरु
Loading...