रुपाताल बाँध निर्माण परियोजना, मुअब्जा लिन स्थानीयको निवदेन

पोखरा, १ मंसिर/ मुअब्जा रकममा पुर्नमूल्यांकन नभएपछि रुपाताल बाँध निर्माण क्षेत्रका प्रभावित स्थानीय बासिन्दाले तोके अनुसारकै मुअब्जा लिन लिखित निवदेन दिएका छन् ।

गत साउनदेखि मुअब्जा वितरण गर्ने रुपताल संरक्षण एककिृत विकास परियोजनाले योजना बनाए पनि स्थानीयबासीले मुअब्जा रकममा पुर्नमूल्यांकन हुनुपर्ने माग गर्दै लिन अस्वीकार गर्दै आएका थिए ।

तर मुअब्जा रकममा सरकारी मूल्यांकन भन्दा नबढ्ने संकेत देखिएपछि स्थानीयले पुरानै रकममा लिन राजी हुदैं फाराम भरेका रुपताल संरक्षण एककिृत विकास परियोजनाका इन्जिनियर कृष्ण विकले जानकारी दिए ।

‘पहिलो चरणमा २५० रोपनीको मुअब्जा दिने छौं ।’ उनले भने–‘आठ दशजनाले लिईसक्नु भएको छ । २५ जना जतिको फारामलाई मालपोत कार्यालय कास्कीमा पठाईसकिएको छ ।’ मुअब्जा वितरण समितिले पानीले डुबान गर्ने क्षेत्र जहाँ पैदल मार्ग बनाईन ठाँउको लागि र बाँध बाँध्नेस्थलमा छुट्टाछट्टै मुअब्जा निर्धारण गरेको थियो ।

पैदल मार्गको लागि प्रति रोपनी ८ लाख ६२ हजार निर्धारण गरिएको छ । बाँध बाँधिने क्षेत्रमा भनेसमितिले प्रतिरोपनी १२ लाख ९२ हजारसम्मको मूल्य तोकिएको छ । त्यति मुअब्जा रकम अपुग भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि मुअब्जा लिन स्वीकार गर्दा झण्डै दुई महिना लम्बिएको थियो ।

स्थानीय बासिन्दाले

प्रतिरोपनी ५० लाख रुपैयाँभन्दा बढी मुअब्जा दिनुपर्ने माग गर्दै आएका थिए । मुअब्जा समितिले निर्धारण गरेको रकम तीन वर्ष अघि बेचविखन हुदाँको भन्दा पनि कम तोकिएको जनाउँदै विरोध गरेपछि वितरण गर्नेकाम रोकिन पुगेको थियो ।

मुअब्जा वितरणको काम रोकिदाँ बाँध निर्माणको काम समेत ठप्प हुन पुगेको थियो । वितरण गरिने मुअब्जा खोलोका किनार, बाँध बाध्नेस्थल र फुट ट्रयाक निर्माण गरिने क्षेत्रको हो ।

‘मुअब्जा बढेर आउने आशामा लिएका थिएनौं तर बढेर आएन । अब यही पनि नलिदाँ समस्या हुदाँ लिन करै लाग्यो ।’ स्थानीय पीडितले भने–‘तर ताल संरक्षण गर्न जग्गाको मुअब्जा लिएपनि दान गरे जस्तै भएको छ ।’ रुपातालमा बाँध बाँध्ने परियोजना सफल हुनुपर्छ भन्ने मानसिकता स्थानीयबासिन्दाको रहेकोले पनि पुरानै मूल्यांकन अनुसार मुअब्जा लिन तयार भएको प्रभावितहरु बताउँछन् ।

बाँध बाँध्न पहिलो वर्ष १२ करोड निकासा भएको थियो । मुअब्जा वितरणको लागि पहिलो चरणको लागि २५ करोड रुपैयाँ परियोजनाले माग गरेको थियो । परियोजनाले आवश्यकता अनुसार जग्गा अधिग्रहण गर्दै मुअब्जा वितरण गर्दै जाने उल्लेख छ ।

स्थानीयलाई मुअब्जा वितरण नहुदाँसम्म बाँधको मुख्य काम नै रोकिएको थियो । ‘अब मुअब्जा वितरणको काम टुग्याई बाँध बनाउने टेण्डरको बन्दोबस्ती गर्ने हो ।’ इन्जियिनर विकले भने–‘मुख्य काम ठेक्का हुनुपर्छ । त्यसको लागि मुअब्जा वितरणको काम टुग्याउदैं छौं ।’

डुबान क्षेत्र

अन्तर्गत पर्ने १४७२ रोपनी क्षेत्रफलको मुअब्जा दिनुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । परियोजनाले तालको उत्तर तर्फ सिल्टेसन ट्यांक निर्माण समेत गरेको छ । तीन वटा मध्ये एक ट्यांक निर्माण कार्य पुरा गरिसकिएको अवस्था छ ।

तालको दक्षिण तर्फ ५७५ मिटर लम्बाईको बाँध निर्माण गरिने छ । ५० मिटर चौडाईयुक्त बेस रहने छ । १० मिटर उचाई र १० मिटर चौडाईको बनाईने छ । पन्च वर्षिय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५१ करोडको लागत अनुमान गरिएको परियोजना प्रमुख अर्यालले बताए ।

बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ । उत्तर तर्फको दोभान, जिमिरे, चिसा खोला लगायतका खोलाले वर्षेनी बगाउने माटोले तालको सतह घट्दै गएको छ । नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो ।

कमेन्टहरु
Loading...