मुख्यमन्त्री गुरुङ—हाइनान गभर्नर भेटवार्ता

पोखरा, १२ असोज /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चीनको हाइनान प्रान्तका गभर्नर जिआमेन

सिनसँग भेटवार्ता गरेका छन् । भेटमा गण्डकी प्रदेशको विकासको सम्भावना, योजना र सहयोगका क्षेत्रबारे

छलफल भएको छ । मुख्यमन्त्री गुरुङले हाइनानका गभर्नरलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तोसमेत

दिएका छन् ।

गण्डकी प्रदेशको नीति र योजना अनुरुप प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, नागरिक उड्डयन,

पर्यटन, पूर्वाधार विकास लगायत क्षेत्रमा लगानी गर्न र दुई पक्षीय सहयोग गर्न हाइनान प्रान्तका गभर्नर

सकारात्मक रहेको पाइएको मुख्यमन्त्रीको भ्रमण दलका एक सदस्य मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरले

जानकारी दिए । उनले भने, ‘यही वर्षभित्र पोखरामा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन हाइनानका

लगानीकर्तालाई हाम्रा मुख्यमन्त्रीज्यूले आह्वान गर्नुभएको छ ।’

गण्डकी प्रदेश पर्यटकीय दृष्टिले विश्वमै उत्कृष्टमध्येको गन्तव्य रहेको र लगानी गर्ने वातावरण अनुकुल

भएकाले अवसरको फाइदा उठाउन मुख्यमन्त्रीले लगानीकर्तालाई आह्वान गरेको घिमिरेले जनाए । घिमिरेकै

अनुसार हाइनानका गभर्नरले गण्डकी प्रदेशको प्राथमिक क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्व टोलीले हाइनान कलेज अफ भोकेसन एन्ड टेक्निकका निर्देशक डा। उ जिआउइ

लगायतसँग समेत भेटी गण्डकीमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि पूर्वाधार, विकास,

ल्याब, शिक्षक तालिम, पाठ्यक्रम लगायत विषयमा छलफल गरेको छ । हाइनानको सोही कलेजमा पढिरहेका

नेपाली विद्यार्थीसँग पनि मुख्यमन्त्रीले भेटघाट गरेका छन् । मुख्यमन्त्री गुरुङ मंगलबारदेखि साताव्यापी चीन

भ्रमणमा छन् ।

हाइनान प्रान्त चीनका व्यापारी र व्यवसायी तथा चाइना काउन्सिल फर प्रोमोटिङ इन्टरनेसनल ट्रेड

(सिसिपिआइटी) का सदस्यसँग नेपाली भ्रमण दलले व्यापार, व्यवसायका विभिन्न पक्षबारे छलफल गरेको

मुख्य न्यायाधिवक्ता घिमिरेले जानकारी दिए । उनले भने, ‘हाइनानको पर्यटन, नागरिक उड्डयन, जलस्रोत,

ऊर्जा, सौर्यऊर्जा र औषधि व्यवसायीका प्रतिनिधि मण्डलसँग ११ गते शुक्रबार भेटवार्ता भयो ।’

कमेन्टहरु
Loading...