क्यानोनिङको प्रवद्र्धन गर्न नुवाकोटको झरनामा महोत्सव

सूर्यचन्द्र बस्नेत

काठमाडौँ, १६ जेठ / जलयात्रा, पदयात्रा र पर्वतारोहण जस्तै साहसिक पर्यटनका रूपमा विकास हुन थालेको छाँगावरोहण (क्यानोनिङ)प्रति आन्तरिक पर्यटक आकर्षित गर्न नेपाल छाँगावरोहण सङ्घले छाँगावरोहण महोत्सव गर्ने भएको छ । पहाडका अग्ला डाँडाबाट झर्ने प्राकृतिक झरनामा डोरीको सहायतामा झुन्डिएर खेलिने यो साहसिक पर्यटकीय गतिविधिका रूपमा विकास हुँदैछ । काठमाडौंबाट ३५ किलोमिटर टाढा नुवाकोट थानापाती गाविसको छहरे झरनामा जेठ २१ र २२ गते महोत्सव गर्न लागिएको हो ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोेसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने महोत्सवमा करिब ३०० स्वदेशीको सहभागिता रहने सङ्घका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो । “साहसिक पर्यटनमा रुचि राख्ने नेपालीलाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो, यसले नेपालको साहसिक पर्यटनको विस्तारमा मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, बन्जीजम्प, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिप्रति पर्यटकको आकर्षण बढिरहेका बेला साहसिक खेलका रूपमा चिनिएको छाँगावरोहणप्रति पनि स्वदेशी तथा विदेशीको आकर्षण बढ्दै गएको छ । छाँगावरोहणको प्रवद्र्धन गर्न कार्यशाला, राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सव तथा गाइड प्रशिक्षणजस्ता कार्यक्रम गरेर प्रचारसहित प्राविधिक सीपको विकास गरिरहेको सङ्घका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेत बताउनुहुन्छ ।

“छाँगावरोहणमा नेपालीको सहभागिता बढाउन महोत्सव आयोजना गर्न लागिएको छ,” उहाँले भन्नुभयो । स्वदेशी–विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जाने गरेका छन् । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् । पाँच हजार २०० मिटर उचाइमा अवस्थित मनाङ फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।

सङ्घले विभिन्न सामाजिक सञ्जालमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति तथा कम्पनीले छाँगावरोहण गर्ने÷गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ ।

सङ्घका महासचिव देवेन्द्रबाबु तिवारीले एक विज्ञप्तिमार्फत छाँगावरोहण साँच्चै नै साहसिक र जोखिमयुक्त पर्यटकीय गतिविधि भएकाले यदि कोही देश वा विदेशका नागरिक छाँगावरोहणमा रमाउन चाहेमा पूर्वरूपमा नेपाल सरकार तथा छाँगावरोहण सङ्घबाट स्वीकृति लिएको कम्पनी, गाइड र तोकिएका झरनामा मात्र गर्न÷गराउन अनुरोध गरिएको उल्लेख गर्नुभयो ।

यही सन्दर्भमा सङ्घले दक्ष प्रशिक्षक तयार गर्न मङ्गलबारबाट छहरे झरनामा दशदिने छाँगावरोहण प्रशिक्षक तालिम पनि सञ्चालन गर्दैछ । त्यसमा दश जनाले प्रशिक्षण लिनेछन् । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहणजस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादनसँगै महोत्सव गर्न लागिएको सङ्घका महासचिव एवम वरिष्ठ प्रशिक्षक राजेश लामा तामाङले बताउनुभयो ।

अग्ला पहराबाट खस्ने छहराको चिसो पानीसँगै गर्मीयाममा खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई व्यवस्थित बनाउन नेपाल छाँगावरोहण सङ्घ लागिपरेको छ । सङ्घले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ ।

सङ्घको पहलमा सरकारबाट छाँगावरोहण कार्यविधि निर्देशिका आइसकेको र केही बुँदा संशोधन गर्न सङ्घले गृहकार्य सुरु गरेको जनाएको छ । “बिनास्वीकृति छाँगावरोहण गर्दा÷गराउँदा हुन सक्ने कुनै पनि अप्रिय घटनाका लागि सङ्घ जिम्मेवार हुनेछैन”, कोषाध्यक्ष बस्नेतले भन्नुभयो ।

सङ्घले एसियामा नै पहिलो पटक सन् २०११ मा अन्तर्राष्ट्रिय छाँगावरोहण महोत्सव गरेर विश्वको साहसिक पर्यटनतर्फ रुचि राख्ने विदेशीलाई नेपाल भित्र्याएको थियो । पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा कार्यक्रम गरिरहेको सङ्घले सन् २०१३ मा राष्ट्रिय छाँगावरोहण महोत्सव आयोजना गर्दा २०० बढी स्वदेशी तथा विदेशी सहभागि थिए । रासस

कमेन्टहरु
Loading...