ट्रमाको निर्देशकमा पोखराका डा पौडेल नियुक्त, विपन्नलाई निःशुल्क शल्यक्रियाजन्य सामग्री उपलब्ध गराउने

पोखरा, ८ फागुन / राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा पोखराका डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पौडेललाई बिहीबार निर्देशकको जिम्मेवारी दिएको हो ।

नियुक्त भएलगत्त निर्देशक पौडेलले विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । मन्त्रालयबाट पत्र बुझेर पदस्थापन गर्दै डा पौडेलले हेड र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्री तथा औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन् ।

विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत सेवा प्राप्त गर्ने नेपाली नागरिकलाई हेड इन्जुरी र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्रीहरु तथा औषधिहरुको व्यवस्था ट्रमा सेन्टरको सामाजिक सेवाबाट एकाई मार्फत निःशुल्क प्रदान गर्ने निर्णय गरेका हुन् ।

पौडेल कास्कीको अन्नपुर्ण गाउँपालिकाको पाउँदुर घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ मा उनका बाबुआमा बस्दै आएका छन् । उनी जागिरको शिलशिलामा केही वर्ष देखी काठमाडौमा बस्दै आएका छन् ।

कमेन्टहरु
Loading...