कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उनले बताए ।
उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपियाँको पचास प्रतिशत गाउँपालिकाले व्यर्होने भएको छ । बिमाको लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले जानकारी दिए ।पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको उनको भनाइ छ । “जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नयाँ वर्षमा नयाँ कामको थालनी गरेका छौँ,”उनले भने ,“स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पतालसहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको छौँ, यो कार्यक्रमले पनि स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”
२ जना डाक्टरसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना रहेको ओझाले बताए । ओझाका अनुसार अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन ९ वटै स्वास्थ्य संस्थामा गरी ३७ जनालाई करार नियुक्त गरिएको उहाँको भनाइ छ । ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अनेत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा९ओपिडी० सुरु हुन उनको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै ५ महिनाको तयारीपछि सेवा आरम्भ भएको जानकारी दिए । रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङले स्वास्थ्य बिमा कार्यक्रमको लाभ लिन पालिकावासीलाई अनुरोध गरे । रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिन बाहेक ओपिडी सेवा, निशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिए । उनले स्वास्थ्य जनचेतना जगाउन विद्यालय कार्यक्रम अस्पतालले गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले रुपा गाउँपालिका अध्यक्ष नीलकण्ठ रेम्मीले स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको अनुदान शत प्रतिशत पु¥याउन गाउँपालिकासँग आग्रह गरे । नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपानेले स्वास्थ्य कार्यक्रम जनताले अनुभूति गर्ने कार्यक्रम भएको बताउँदै सबैको अपनत्व हुनेगरी कामलाई अगाडि बढाउनुपर्ने बताए। रुपा गाउँपालिकाका उपाध्यक्ष एवं अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष लालसुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रुपाका स्वास्थ्य संयोजक रामचन्द्र ओझा, जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले रुपा गाउँपालिकाले विकास निर्माणको साथैसाथै स्वास्थ्य सेवालाई पनि प्राथमकितामा राखेर काम गरिरहेको बताए ।