गण्डकीमा ३ महिना पुग्ने औषधि मौज्दात छः औषधि व्यवसायी

कोरोनाविरुद्धको सरकारी तैयारी सुस्त रहेको र व्यवसायीलाई दुःख दिइएको गुनासो

पोखरा, २५ फागुन / कास्कीमा रहेका औषधि व्यवसायीहरुले गण्डकी प्रदेशमा ३ महिनालाई पुग्ने औषधि मौज्दाज रहेकोले औषधि अभाव नहुने प्रष्ट पारेका छन् । उनीहरुले हल्ला गरिएजस्तो कुनै पनि व्यवसायीहरुले औषधिमा बढी मूल्य नलिएको जिकिर गर्दै अनौपचारिक क्षेत्रबाट पछिल्लोसमय भित्रिएको मास्कको मूल्य नै बढी परेको पनि जनाएका छन् ।

‘हामीले अरुसमयको भन्दा बढी ओखती नदिन थोक तथा खुद्रा व्यवसायीहरुलाई अनुरोध गरेका छौँ’,नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले भने,‘यतिबेला केही औषधिहरु भन्सारमा रोकिएको छ तर डर मान्नुपर्ने अवस्था छैन ।’

उनी जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ तथा औषधि व्यवसायी संघ, गण्डकीले आइतबार आयोजना गरेको ‘औषधि तथा दैनिक उपभोग्य बस्तुको अभाव र हुनसक्ने महंगी विषयक छलफल कार्यक्रममा बोल्दै थिए । कार्यक्रमलाई सहजिकरण गर्दै कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए । उनले कोरना संक्रमण फैलन नदिन सचेतना अपाउन सर्वसाधारणलाई अनुरोध पनि गरे ।

बजारमा कुनैपनि खाद्य सामग्री तथा औषधिको अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ संघले सबै सरोेकारवाला निकायहरुसँग सहकार्य गरेको पनि उनले बताए । उनले संकटको बेला व्यवसायीहरुको मानमर्दन नगर्न प्रशासनसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै कास्कीका सहायक  प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै रोग भित्रिहालेमा त्यसको नियन्त्रणको लागि आवश्यक तयारी थालिएको बताए । उनले व्यवसायीहरुलाई बिल लिएर मात्रै मास्क खरिद गर्न आग्रह गरे । नेपालमा मास्कको माग बढ्न थालेपछि अनौपचारिक बाटोबाट मास्क भित्रिन थालेको छ ।

कार्यक्रमका विश्व स्वास्थ्य संगठनकोतर्फबाट कोरोनाबारे जानकारी दिँदै डाक्टर राजिव लालचनले कोरोनाजस्तो भाइरल पहिल्यैदेखि अस्तित्वमा रहेपनि यसलाई सामाजिक सञ्जालले भयावह बनाएको धारणा राखे । उनले कुनैपनि खाले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको बताउँदै यसबारे सचेतना अपनाउन सबैसँग आग्रह गरे ।

नेपालमा कोरोना भित्रिएमा के गर्ने भन्नेबारे व्यापक तयारी थालिएको बताउँदै उनले गण्डकी प्रदेशमा रोगको उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), क्वारेण्टाइन, एम्बुलेन्स, ल्याब नभएको जानकारी दिए । उनका अनुसार परीक्षण ल्याब नहुँदा अहिले कसैलाई सामान्य ज्वरो आउँदा पनि काठमाण्डौ पठाउनुपर्ने बाध्यता छ । कोरानाबाट सचेतना अपनाउने क्रममा पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने चिनियाँ कामदारसहित होङ्सी सिमेण्ट उद्योग एवं अन्य चिनियाँ कार्यरत रहेका परियोजनाहरुमा निगरानी गरिएको छ ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा प्रमुख गोकुल शर्माले व्यवसायीहरुलाई संकटको बेला उपभोक्ता भएर हेर्न आग्रह गरे । कार्यक्रममा बोल्दै अर्का औषधि व्यवसायी कृष्ण पाण्डेले गण्डकी प्रदेशमा कोरना परीक्षण सुविधा नै नभएको सन्दर्भमा स्वास्थ्यकर्मीसमेत खतरामा रहेको बताए । औषधि व्यवसायी संघ कास्की अध्यक्ष विक्रम पन्तले बजारमा पर्याप्त औषधी भए पनि सरकारी तबरबाट कोरानाविरुद्ध आवश्यक तयारी नपुगेको बताए ।

औषधि व्यवसायीका केन्द्रीय सदस्य टंक अधिकारीले नेपालमा वार्षिक ४५ अर्बको ओखती भित्रने जानकारी दिँदै सिटामोलको निश्चित मूल्य तोकिँदा नेपालमा सिटामोल उत्पादन घटेको बताए । कार्यक्रममा बोल्दै औषधि व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामबहादुर केसीले स्कूलहरुले अनिवार्य मास्क लगाएर आउन तथा सेनेटाइजर प्रयोग गर्न भनेपछि बजारमा दुबै कुराको अभाव भएको बताए । उनले कोरोनाविरुद्धको प्रभावकारी सचेतना अभियान चलाउन सरोकारवालाहरुसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै अधिकांश व्यवसायीहरुले कोरोना संन्त्रासका कारण ज्वरो आएको बिरामीले पनि उपचार नपाएको र काठमाण्डौ पठाउने गरिएको, पूर्वतैयारी नअपनाइएको, व्यवसायीहरुलाई अनावश्यक रुपले दुःख दिन खोजिएको तथा सरकार आफू तयार नहुँदै व्यवसायीको नाम जोडेर काम गरेको देखाउने ध्याउन्नमा रहेको गुनासो गरेका थिए । उनीहरुले मास्क र सेनेटाइजरमा अतिकत्म उपभोक्ता मूल्य नतोकिँदा आफूहरु पनि महंगोमा किन्न बाध्य भएको र उपभोक्ताहरुले आवश्यकताभन्दा बढी ओखती लैजाँदा पनि बजार प्रभावित भएको बताएका थिए ।

कमेन्टहरु
Loading...