पोखरा १५ मा स्त्री रोग परीक्षण एवं निःशुल्क औषधि वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ कार्यालय तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १५ को आयोजनामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ लाभान्वित भएका छन् ।

राइट फर चिल्ड्रेन सहयोगी संस्था रहेको शिविरमा वडा नं. १५ का विभिन्न उमेरसमूहका महिलाहरुको उल्लेख्य उपस्थिति रह्यो । २ सय २० जना महिलाले स्वास्थ्य जाँच गराएको वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । वडाले गत साउन ३० गते पनि पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले राम्रो स्वास्थ्य विकास र समृद्धिको सूचक भएको बताउँदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्– ‘जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडि बढछ । त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।’ एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडि बढछ भन्दै उनले समय समयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिइन् ।

‘बिरामी भैसकेपछि मात्रै अस्पताल जाने अवस्था छ, अब त्यस्तो हैन समय सयममा जाँच गर्दा स्वस्थ रहन सहयोग पुग्छ ।’ उनले भनिन्– ‘भौतिक विकास मात्रै नभएर मानवीय विकास पनि महत्वपुर्ण हो ।’ एउटा घरको ब्यक्ति बिरामी हुदाँ परिवारनै अस्तब्यस्त हुने भएकाले स्वास्थ्यलाई ध्यान दिनुपर्ने उपप्रमुख गुरुङको भनाई छ ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका वडाध्यक्ष तोरणबहादुर बानियाँले मानवीय विकासमा स्वास्थ्य महत्वपूर्ण रहेको बताए । ‘नागरिक स्वस्थ नभएमा पुर्वाधारको विकास गरेपनि त्यसको महत्व हुँदैन ।’ उनले भने– ‘स्वास्थ्य शिक्षा, कृषिलाई रणनीतिक योजनाका रुपमा अगाडि बढाएका छौँ ।’ शिविरमा आवश्यकलाई औषधि वितरण गरिएको वडाध्यक्ष बानियाँले जानकारी दिए ।

शिविरमा स्त्रीरोग सम्बन्धी पाठेघर वा आङ खस्न सक्ने बारे उपचार तथा स्क्रीनिङ, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको सहयोगी संस्था राईट फर चिल्ड्रेनले जनाएको छ । सन् २०१३ मा स्थापित यो संस्थाले बालबालिका तथा महिलाका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको छ ।

छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा हुन्छ । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ । यो रोग सुरु हुँदा विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

जबकी पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गम्भिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार सम्भव र सहज हुन्छ ।

कमेन्टहरु
Loading...