पोखरामा आखाँ पाक्ने रोग न्यूनीकरणका लागि निशुल्क परिक्षण तथा औषधि वितरण

पोखरा / पोखरा महानगरपालिका र मणिपाल शिक्षण अस्पताल फूलबारी तथा चरक मेमोरियल हस्पिटल नागढुंगा बिच निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको छ । महानगरका प्रमुख धनराज आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल बिच सो समझदारी भएको हो ।

मुलुकका विभिन्न भागहरूमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको प्रमुख आचार्यले बताए । भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगसँग सम्बन्धित बिरामीहरूले यसको लाभ लिन सक्ने उनले बताए ।

व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीहरूको सहजताका लागि सो समझदारी गरिएको निर्देशकद्धय पौडेल र पोखरेलले बताए । उनीहरूका अनुसार श्रावण मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधी समेत वितरण गरिने छ । बिरामीहरूलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीहरूका लागि निःशुल्क टिकटको व्यवस्था गरिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट प्राडा इलिया श्रेष्ठले जानकारी दिइन् ।

यसअघि पोखरा महानगरपालिकाले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रवारसम्म आफ्नो मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालयहरू सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।

कमेन्टहरु
Loading...