जुलोजिकल पार्क साउन देखि सर्वसाधारणले अवलोकन गर्न पाउने

पोखरा, ११ जेठ /गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राख्दै ११० पर्यटकीय स्थलको पहिचान गरिएको पुस्तक त सार्वजनिक गरिसकिएको छ । पोखरामै पर्यटन वर्षलाई लक्षित गर्दै यसै वर्षको साउनदेखि वन्यजन्तु उद्धार केन्द्र सर्वसाधारणको लागि खुला गरिने तयारी गरिएको छ ।

त्यही अनुसार कामलाई रफ्तारमा लगिएको छ । काम गर्न गण्डकी प्रदेश सरकार मार्फत बन निर्देशनालयले डेढ करोड रुपैयाँ वन्यजन्तु उद्धार केन्द्रको निर्माणकर्ता पोखरा युनाईटेड क्लबलाई उपलब्ध गराएको थियो । उपलब्ध बजेटले केन्द्रमा केही पुर्वाधार निर्माण गरिएको छ ।

सर्वसाधारणको लागि खुला गरिएपछि पोखरामा अर्को पर्यटकीय गन्तव्य थपिने छ । आन्तरिक तथा बाह्य पर्यटनको लागि एक दिने बसाई लम्ब्याउने भूमिका वन्यजन्तु उद्दार केन्द्रले खेल्ने आशा र विश्वास प्रदेश सरकारले लिएको छ ।

युनाईटेड क्लबले पाँच वर्ष अघि पोखरामा चिडियाखानाको अवधारणा अघि सार्यो । अवधारणा अनुसार तत्कालिन लेखनाथ नगरपालिकाको पचभैया सामुदायिक बन, चैनपुर सामुदायिक बन र चायापानी चिसाकुना सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर बनलाई चिडियाखाना बनाउने अभियानको थालनी भयो । तर चिडियाखानाको सम्भावनालाई जिवितै राख्दै प्रारम्भिक चरणमा वन्यजन्तु उद्दार केन्द्रको रुपमा क्लबले विकास गर्यो ।

वन्यजन्तु उद्धार केन्द्र साउनको १ गतेदेखि सर्वसाधारणको लागि खुला गरिने अन्तिम लक्ष्य राखिएको छ । ‘साउन १ गते सर्वसाधारणको लागि खुला गर्ने गरी धमाधम काम गरिरहेका छौं’ युनाईटेड क्लबका संस्थापक अध्यक्ष एवं चिडियाखानाका अभियानकर्ता हिमालय बख्रेलले भने–‘ढिलोमा असोजसम्म पुर्याउने भन्ने सोंच हो । तर काम फटाफट गरिएको छ साउनमै खुला गर्ने योजना छ ।’

पोखरामा वन्यजन्तु हेर्ने पार्क छैनन् । पार्क भित्रका वन्यजन्तु प्रत्यक्ष नियाल्न काठमाडौं नै पुग्नुपर्छ । तर अबको दुईमहिना पनि कुर्नुपर्ने अवस्थामा भने छैन् । ‘केन्द्रभित्र सर्वसाधारण पैदल यात्रा गर्न फुट ट्रयाक बनाईरहेका छौं’ उनले भने–‘ त्यो सकिएपछि केही इन्क्लोजर तयार पारेर केन्द्र सबैको लागि खुला गर्ने छौं ।’ उद्धार केन्द्रमा प्रवेशको लागि शुल्क लिने कि नलिने विषयमा भने ठ्याक्कै निर्णय भईनसकेको उनको भनाई थियो ।

वन्यजन्तु उद्दार केन्द्रमा अहिले घाईते जनावारलाई उद्धार गरी राखिएको छ । ‘वन्यजन्तु उद्दार केन्द्रको रुपमा विकास गरिरहेका छौं ।’ उनी भन्छन्–‘घाईते जनावरको उपचारको लागि प्राथमिक उपचार केन्द्र समेत निर्माण गर्ने योजना छ ।’ पार्कको अवधारणा अघि सारिएपनि अहिले वन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास हुदैं गएको छ । उद्धार गरिएको जनावरलाई व्यवस्थापन गर्दै जुलोकिजल पार्कको अवधारणा पुरा गर्ने सोच क्लबले बनाएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको बजेट अनुसार मयुर, मृग, हिमालयन थार, र भालुको ठूलो खोर बनाईदैं छ । वन्य जन्तुको लागि खानेपानी ट्यांकी निर्माण, घाईते वन्यजन्तु उपचार कक्ष, घाईते जनावर बोक्ने इलेक्ट्रिक स्ट्रेचर लगायतका पुर्वाधार व्यवस्था गरिने उनले सुनाए । ‘आवश्यक पुर्वाधार टुग्याउदैं छौं । अहिले फुट ट्रयाकलाई सकेर अरु काम गरिन्छ ।’ उनले थपे–‘बजेटले भ्याएसम्म काम गर्ने हो । काम गर्दै जादाँ बजेट अभाव हुने सम्भावना छ ।’ एउटा खोरदेखि अर्को खोरसम्म पुग्ने सिढींयुक्त बाटो र मुल प्रवेश गेट बनाइएको छ ।

अध्यक्ष बख्रेलले युनाइटेड क्लवले अन्य क्लवहरुले भन्दा छुट्टै उद्देश्य लिएर बामे सर्ने क्रममा नवौ महोत्सवसम्म आईपुगेको भन्दै क्लवकै पहलमा पोखरामा मानव निर्मित खुल्ला जुलोजिकल पार्क सर्वसाधारणको लागि खुला गर्ने अन्तिम तयारीको अवस्थामा आईपुगेकोमा क्लब, स्थानीयबासिन्दा एवं प्रदेश सरकारप्रति आभार व्यक्त गरेका छन् ।

महोत्सवबाट संकलित रकमको केही हिस्सा पार्क बनाउन खर्चिदैं आएको छ । तथ्यांक अनुसार ४८ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ । पोखरा महानगरपालिकाले ३५ लाखरुपैयँ उपलब्ध गरईसकेको छ । पार्क बनाउन हालसम्म साढे दुई करोड रुपैयाँ खर्च गरिसकिएको छ । ‘मृगस्थली, बाघ राख्ने खोर निर्माण भईसकेको छ ।’

युनाईटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ भन्छन्–‘पाँच वटा पशुपंक्षी राख्ने खोर निर्माण गरिएको छ ।’ जुलोजिकल पार्क बनाउन २०७१ साल माघमै चर्चा शुरु भएको हो । तर शिलान्यास भने २०७२ साउन १५ गते तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले गरेका थिए । प्रदेश सरकारले सन २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनालाई जुलोजिकल पार्कले टेवा पुर्याउने भन्दै त्यसको स्वामित्वग्रहणसँगै आवश्यक पुर्वाधार निर्माणमा विशेष जोड दिइएको छ ।

कमेन्टहरु
Loading...