पोखरामा कुखुराको खोरमा चितुवा पस्यो, डार्टिङ गरी नियन्त्रणमा

पोखरा, २ साउन /पोखरा महानगरपालिका–१६ सिप्लेकुनाको एक कुखुराको खोर पसेको चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको छ । स्थानीय सोभित बहादुर केसीले पालेका ५ सय कुखुरा रहेको खोरमा मंगलबार राती चितुवा पसेको थियो ।

चितवनबाट डार्टिङ (बन्यजन्तुलाई टाढैबाट बेहोस बनाउने सुई राख्ने प्रविधि) टोली झिकाई नियन्त्रणमा लिएको हो । कुखुरा खोरमा चितुवा पसेपछि खोर धनी केसीले डिभिजन वनमा खबर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले चितवनबाट ४ जनाको डार्टिङ टोली बोलाई चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिएका डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले जानकारी दिए ।

कुखुराको खोरमा पसेको चितुवा ढोका बन्द भएपछि थुनिएको थियो । ५ सय कुखुरा रहेको खोरमा पसेको चितुवा कुखुराको आवाजले डराएर बाहिर निस्कन जाली तर्फ बल गरिरहेको थियो । ठूलो खोर भएको र कुखुराको आवाजको डराएका कारण चितुवाले कुखुरालाई आक्रमण गर्न भने सकेन ।

डरले एक्कै ठाउँमा जम्मा भएका कारण ८/१० वटा कुखुरा मरेको सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए । डार्टिङ टोलीले कुखुरालाई समेत कुनै क्षति नपु¥याइ सफल रुपमा चितुवालाई नियन्त्रणमा लिएको पराजुलीले जानकारी दिए । नियन्त्रणमा लिएको चितुवालाई पोखराको लेखनाथस्थित पचभैयाको वन्यजन्तु अद्धार केन्द्रमा लगिएको छ ।

कमेन्टहरु
Loading...