प्रेस काउन्सिलको लापरबाहीले पोखराका पत्रकार गिरी पक्राउ, चौतर्फी दवावपछि रिहा

पोखरा, २ बैशाख /ठगीको समाचार लेखेका कारण साईवर क्राईमको उजुरीमा पक्राउ परेको पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को निर्देशनमा कास्की प्रहरीले पक्राउ गरी काठमाण्डौं पठाएको थियो ।

गिरीलाई प्रारम्भीक अनुसन्धान पछि सोमबार नै रिहा गरिएको हो । पोखराका ब्यवसायी बतास कम्पनीका सञ्चालक वीपेन्द्रराज बतासले गिरी विरुद्ध साईवर क्राईमको उजुरी दिएका थिए । गिरीले बतासले ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको समाचार ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकममा लेखेका थिए ।

प्रेस काउन्सिलको गल्तीका कारण गिरीलाई पक्राउ गरिएको हो । अहिले काउन्सिलकै आग्रहमा गिरीलाई छोडिएको बताईएको छ ।

कसरी भयो गल्ती ?

ब्यवसायी वीपेन्द्रराज बतास आफ्नो विरुद्ध समाचार आएपछि अनलाइन र पत्रिका दर्ता भएन भएको बुझ्न प्रेस काउन्सिल पुगे । बतासले निवेदन दिएपछि काउन्सिलले ताण्डव न्यूज डटकम अहिलेसम्म दर्ता नभएको भनेर प्रतिपत्र पठायो । काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले हस्ताक्षर गरेर ताण्डव काउन्सिलमा दर्ता नभएको पत्र दिएका थिए ।

त्यसपछि बतासले अर्को बाटो रोजे–साइबर क्राईम मुद्धा । सिआईवीले सोही उजुरीका आधारमा कास्की प्रहरीलाई निर्देशन पठायो–अर्जुनलाई पक्राउ गरेर काठमाण्डौं पठाउन । कास्की प्रहरीले सोमबार गिरीलाई पक्राउ गरेर काठमाण्डौं पुर्याएको थियो ।

तर पछि काउन्सिलकै गल्ती भेटिएपछि गिरी रिहा भएका छन् । समाचार प्रकाशन र प्रशारणको उजुरी काउन्सिल मार्फत अगाडी बढ्छ । साईबर क्राईम अन्तर्गत उजुरी परेपछि गिरीले आवश्यक समन्वय गरिदिन काउन्सिलमा पत्र पठाए । उनले कुनै गल्ती भए आगामी दिनमा सच्याउने र नदोहोर्याउने प्रतिवद्धता सहितको पत्र पठाएका कारण आवश्यक सहयोग गरिदिन काउन्सिलले पनि सिआईवीलाई पत्र पठाएको छ ।

काउन्सिलले दर्ता भएका सञ्चार माध्यमबाट प्रकाशन प्रशारण भएका समाचारप्रति काउन्सिलको क्षेत्राधिकार पर्ने भएकोले तत्काल मुद्धा टुंग्याउन आग्रह समेत गरेको छ । काउन्सिलको पत्रकै आधारमा गिरी रिहा भएका हुन् ।

कमेन्टहरु
Loading...