तालबराही मन्दिरको जग्गा भाडामा दिदै गुठी संस्थान, बिरोधमा स्थानीय

सागर राज तिमिल्सिना
पोखरा, २८ साउन /पोखरा पर्यटकीय क्षेत्र लेकसाइडको डाँडामा रहेको तालबाराही मन्दिरको गुठीको जग्गा गुठी संस्थानले भाडामा दिन प्रक्रिया अघि बढाए पछि स्थानीय बिरोधमा उत्रेका छन् ।

फेवातालको मध्य भागमा रहेको तालबाराही मन्दिरको करिब ७१ रोपनी (७०–१४–२–३) जग्गा मध्ये गुठी संस्थानले ५५ रोपनी जग्गा ३९ वर्ष सम्मका लागि भाडा दिन लागेको हो ।  पोखरा महानगरपालिका वडा नम्बर १८ खहरे सिम्पानीमा रहेको मन्दिरको गुठीको जमिनबाट फेवाताल र लेकसाइडको मनोरम दृश्य देखिन्छ । ताल किनारको महत्वपूर्ण जमिनको आय मन्दिरलाई आम्दानी हुने गरि परिचालन गर्न नदिएर जग्गा हडप्न खोजेको आरोप मन्दिर व्यवस्थापन र स्थानीयले लगाएका छन् ।

मन्दिरको संरक्षण, व्यवस्थापनका लागि परापूर्वकाल देखि संरक्षण गरेर राखिएको गुठीको जमिन माथिको हस्तक्षेप नेपाली परम्परा, संस्कृति र संस्कार माथिको हस्तक्षेप भएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष प्रेमराज पहारीले बताए । उनले सरकारले व्वयापार गरेर खाने हैन भन्दै भाडा लगाउन नहुने बताए ।

मन्दिरको गुठीको जग्गामा वृद्ध वृद्धा, असक्त, असाहाय, सन्त महन्त, योगी सन्यासीहरुका लागि आश्रम बनाउने मन्दिरको गुठिको योजना छ भने गुठि संस्थालनले होटल तथा रेष्टुरेण्ट बनाउनका लागि टेण्डर निकालेको हो । ताल किनारको पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण जमिनलाई बोटानिकल गार्डेन बनाई पर्यटकीय आकर्षण क्षेत्रको रुपमा व्यवस्थित गर्नु पर्ने पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण पहारीले बताए ।

उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा आएको भने पनि महानगरपालिका संग समन्वय नै जग्गा भाडामा दिनु गलत भएको बताए । तालबाराही मन्दिरमा अनन्तकाल सम्म पूजा आजा, धुपधुवार चलिरहोस भन्ने उद्देश्यले तत्कालीन कास्की राज्यका तर्फबाट अक्षता गुठी, पाठा गुठी र समिधा गुठीको व्यवस्था गरिएको थियो । गुठी मध्ये २०६४ सालमा पोखरा ५ मालेपाटनमा रहेको पाठा गुठीको १८ रोपनी जग्गा नेपाल सरकारले तोकेको मूल्यको ३० प्रतिशत रकम दिएर गुठियारहरुले जग्गा लिएका छन् ।

मन्दिरको अक्षता गुठीको २३ रोपनी जमिन फेवा फाँटमा अहिले पनि मन्दिरको नाममा छ । पोखरा १८ मा रहेको समिधा गुठीको जग्गा गुठिसंस्थानले भाडामा दिन सुचना निकालेको छ । तालको बिचमा रहेको तालबाराही मन्दिरमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरु आउने गर्दछन् ।

कमेन्टहरु
Loading...