शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरी सक्षम- महानिरीक्षक खनाल

चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन आइजिको निर्देशन

पोखरा, ३ भदौ /प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । खनाले अपराधिक गतिविधि भए तत्कालै पक्राउ गरेर प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए ।

पोखरामा मंगलबार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान नियन्त्रणमा नेपाल प्रहरी सक्षम रहेको बताए ।

उनले शान्तिसुरक्षा स्थापनामा प्रविधिमैत्रीसँगै प्रहरीको उपस्थिति समेत आवश्यक पर्नेमा जोड दिए । विगतमा मुस्कान सहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी गर्दै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रममा ल्याएको बताए ।

सामुदायिक प्रहरीको नाममा प्रहरीलाई झाडु लगाउने काममा मात्र सीमित राख्न नहुने उनको भनाई छ । त्यसैले सामुदायिक प्रहरीलाई कसरी अगाडी बढाउने भन्ने बारेमा विचार गरि रहेको बताए । उनले पोखरा पर्यटकीय केन्द्र रहेको भन्दै उनले लेकसाइड चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको बताए । उनले राति अबेरसम्म व्यवसाय खोलिँदा सुरक्षा दिन प्रहरी सक्षम छ, तर व्यवसायहरुले कुन व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा ख्याल गर्नु पर्ने बताए ।

उनले चर्को आवाज दिने मोटरसाइकल नियन्त्रण लिन तथा रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न कार्वाही गर्न प्रहरीलाई निदेशन दिए । उनले व्यवसायलाई पनि पैसामात्र कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए ।

२ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा साढे २ तले भवन (१६ कोठा) भवन निर्माण गरिएको हो । यो भवनमा संघिय प्रहरी कार्यालयको साइबर अपराध अनुसन्धान, लागुऔषध लगाएतका विभाग राख्ने छ ।

यस्तै, संघीय प्रहरी कार्यालयको व्यारेक भवन, मेस, स्नान गृह र शौचालय पनि खनालले शिलान्यास गरे । सो भवन ३ करोड २५ लाख लागतमा बन्ने अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जनाइन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे, प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद अधिकारी, प्रहरी निरीक्षक चतुर्भुज बोहरा, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...