सांसद र व्यवसायीलाई धम्क्याउनेलाई ५ वर्ष जेल

पोखरा, ५ असोज /गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा, व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौं रकम

असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ । गएको माघमा पक्राउ परेका

४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र २ जनालाई ४ वर्ष कैद र ५० हजार रुपैयाँ

जरिवानाको फैसला अदालतले सुनाएको हो ।

न्यायाधीश काजीबहादुर राईको इजलासले मुख्य योजनाकार शंकर भन्ने नलबहादुर गुरुङ र विवश थापा भनिने

अमृत खड्कालाई ५/५ वर्ष कैद सजाय सुनाएको स्रेस्तेदार जगन्नाथ पौडेलले बताए । यसैगरी उनीहरुलाई

सहयोग गर्ने शिव कार्की र रामु सुवेदीलाई ४÷४ वर्ष कैद सुनाइएको छ । गत माघमा पक्राउ परेका उनीहरु जिल्ला

अदालतको आदेशले पुर्पक्षका लागि थुनामा थिए ।

जिल्ला अदालतका सूचना अधिकारी दुर्गाबहादुर कार्कीका अनुसार उनीहरु चारैजनाविरुद्ध अपहरण तथा शरीर

बन्धक उद्योग तथा संगठित अपराधको मुद्दा थियो । अपहरण तथा शरीर बन्धक उद्योगमा दाबी ठहरे पनि

संगठित अपराध मुद्दामा भने उनीहरुले मुक्ति पाएका छन् ।

उनीहरुले गत पुसदेखि लगातार १ महिनासम्म सांसद थापा र व्यवसायी गुरुङलाई नेपाल र भारतका मोबाइल

नम्बरबाट फोन गरी करोडौं रकम माग गरेका थिए । कुख्यात अपराधी मनोज पुनको ग्याङ हौं भन्दै १

महिनादेखि उनीहरुलाई निरन्तर धम्क्याउँदै आएका उनीहरुलाई कास्की प्रहरीले गएको माघ १८ मा पोखराबाटै

पक्रेको हो । उक्त गिरोहले कालु गुरुङसँग १० करोड र बिन्दु थापासँग २ करोड रुपैयाँ मागेको थियो ।

अनुसन्धान अधिकृत प्रहरी निरिक्षक चक्र मल्लको संयोजकत्वामा १ महिनाभन्दा बढी समयको

अनुसन्धानपछि कास्की प्रहरीले गिरोहलाई नियन्त्रणमा लिन सफल भएको थियो । उनीहरु पक्राउ परेलगत्तै

सांसद थापा र व्यवसायी गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।

स्याङ्जा टक्सार स्थायी घर भई पोखरा–१७ बस्ने शंकर भन्ने नलबहादुर गुरुङ र स्याङ्जाकै अमृत खड्का मुख्य

योजनाकार हुन् । उनीहरु सबै पोखरा बस्दै आएका थिए ।

२८ वर्षीय नलबहादुरले लेकसाइडमा बसेर रकम असुली गर्ने योजना बनाएको बयानका क्रममा स्वीकार गरेका

छन् । उनीहरुले एउटा भारतीय र दुइटा नेपाली मोबाइल नम्बरबाट फोन गरेर रकम माग्ने गरेका थिए ।

उनीहरुले त्यतिबेला ३ जनाबाट रकम असुल्ने योजना बनाएका थिए । त्यही अनुसार उनीहरुको मोबाइल नम्बर

संकलन गरेका थिए ।

कमेन्टहरु
Loading...